निर्मला पन्त हत्या प्रकरणः वास्तविक हत्यारा पत्ता लगाउन कांग्रेस प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री र प्रचण्डको ध्यानाकर्षण
काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै नेपाली काँग्रेसले माग गरेको छ ।
हत्यारा पत्ता लगाउन सरकारले गरेको लापरबाही, न्यायीक आन्दोलनका क्रममा भएको प्रहरी दमन लगायतमा गम्भीर भएको नेपाली काँग्रेसले हत्यारालाई कार्वाहीको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको हो ।
वास्तविक बलात्कारी पत्ता लगाई दोषीलाई कार्वाही, आन्दोलनका क्रममा घाइते भएका घाइतेहरूको स्वास्थ्य उपचारमा सरकारबाट भएको बेवास्ता लगायत कञ्चनपुरसहित विभिन्न जिल्लाहरुमा बढिरहेका बलात्कारका घटनामा सरकार संवेदनशील नभएको भन्दै कांग्रेस केन्द्रीय सदस्यहरु रमेश लेखक, दिलेन्द्रप्रसाद बढू र वीरबहादुर बलायरको प्रतिनिधिमण्डलले आइतबार प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।
प्रचण्डले हत्यारा पत्ता लगाएर कार्वाही गर्नका लागि सरकारलाई दबाब दिने आश्वासन दिएका छन् ।
यसअघि टोलीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको पनि ध्यानाकर्षण गराएको थियो । प्रधानमन्त्री ओलीले घटनाका दोषी पत्ता लगाउन सरकारले कुने कसर बाकी नराख्ने र घाइतेहरुको उपचारको लागि सरकारले लापरबाही नगर्ने प्रतिबद्धता जनाएका थिए ।
गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मलाका हत्यारा पत्ता लाग्न सकेको छैन । सरकारले छानबिन टोली खटाए पनि अहिलेसम्म टोली अलमलमा परेको बुझिन्छ ।
सुरक्षा निकायबाटै प्रमाण नष्ट गरिएको हुन सक्ने आशंका पनि बढेको छ । हत्यारालाई कार्वाही गर्न माग गर्दै भएको आन्दोलनमा एक जनाको मृत्यु भएका थियो भने एक जना अझै अचेत छन् । दर्जनौं घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्