बिमस्टेक सम्मेलन सकियो, १८ बुँदे ‘काठमाडौं घोषणापत्र’ जारी
काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
सम्मेलन सम्पन्न भएसँगै नेपालले श्रीलंकालाई अध्यक्षता हस्तान्तरण गरेको छ । प्रधानमन्त्री ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई बिमस्टेकको अध्यक्षता हस्तान्तरण गरेका हुन् ।
१८ बुँदे घोषणापत्रमा बिमस्टेकको सचिवालयको भूमिका बढाउनेलगायत उल्लेख छ । सचिवालयलाई विभिन्न कार्यक्रम कार्यान्वयन गर्न सक्ने बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए । बिमस्टेकको चार्टर निर्माण तथा कानुनी संरचना तयार गर्नका लागि स्थायी समिति बनाइने छ ।
सम्मेलन समापनको घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकको उपस्थिति यसको प्रगति र क्षमता देखिने गरी काम गरिने उल्लेख गरे । आफ्नो क्षमता अनुसार नेपालले सम्मेलन आयोजना गरेको उनले उल्लेख गरे ।
यसअघि बिमस्टेक राष्ट्रका परराष्ट्रमन्त्रीले बिमस्टेक अन्तरदेशीय विद्युत प्रशारण लाइन स्थापना सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए । बिमस्टेक राष्ट्रहरुबीच ऊर्जा आदानप्रदानका लागि अन्तरदेशीय विद्युत प्रशारण लाइन स्थापना गर्ने सम्झौता गरिएको हो ।
बिमस्टेकमा नेपालसँगै भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्याण्ड सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस्