बलात्कारका घटना रोक्ने योजना ल्याउन प्रहरी महानिरीक्षकलाई गृहमन्त्रीको निर्देशन

काठमाडा। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले महिला हिंसा र बलत्कारका घटनाको न्युनिकरण गर्नका लागि तत्कालै विशेष योजना बनाउन प्रहरीलाई निर्देशन दिएका छन् ।

आज गृहमन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई बोलाएर गृहमन्त्री थापाले पछिल्लो समय महिला हिंसा र बलत्कारका घटनाका समाचारले आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यस्ता घृणीत कार्य रोक्नका लागि विशेष योजना बनाउन आवश्यक रहेको बताए ।

बलत्कारका घटना न्युनिकरणका लागि देशव्यापी रुपमा अभिभावकदेखि बालबालिका सम्मलाई सचेतनामूलक कार्यक्रम र जागरण अभियान सञ्चालन गर्नुपर्ने गृहले ठहर गरेको छ ।

गृहमन्त्री थापाले यस्ता घटनामा मिलापत्र गराउन खोज्नु पनि अपराध भएको भन्दै कहिँकतै त्यस्तो भएको भए उनीहरुलाई समेत कारबाहीको दायरामा ल्याउन प्रहरी महानिरीक्षकलाई निर्देशन दिए ।

महिला हिंसा र बलत्कारका घटनाका उजुरीमा लापरवाही नगरी गम्भिरतापूर्वक कारबाही अघि बढाउन समेत उनले प्रहरीलाई निर्देशन दिए ।

गृहसचिव प्रेमकुमार राई समेत सहभागी सो छलफलमा गृहमन्त्री थापाले कञ्चनपुरको बालिका मृत्यु घटनाको सत्य, तथ्य बाहिर ल्याउनका लागि गठित छानबिन समितिलाई सहयोग पुग्नेगरी सबैपक्षले काम गर्नुपर्ने बताए ।

अभियान सुरु गर्दै गृह

अनियन्त्रित मदिराको विक्रिवितरण र लागुपदार्थको सेवन  लगायतका कारणले बलत्कार र महिला हिंसाको घटना बढेको ठहर गर्दै यस बिरुद्ध गृहमन्त्रालयले अभियान सुरु गर्ने भएको छ ।

गृहले केही दिनभित्रै देशव्यापी रुपमा ‘लागु पदार्थ निषेध र मदिरा नियन्त्रण अभियान’ सञ्चालन गर्ने भएको छ । मदिराको व्यवस्थित विक्री वितरण र सेवनसम्बन्धी प्रस्ताव गृहले मन्त्रीपरिषद्मा लैजाँनका लागि तयार पारेको छ ।

सो प्रस्ताव पारित भए लगत्तै भदौको मसान्तभित्रै यो अभियान घोषणा गर्ने गृहको तयारी छ ।

इन्टरनेटमार्फत अश्लिलता बढेको कारण पनि बलत्कारका घटना बढेकोले  यसको नियमनको बारेमा समेत गृहले छलफल शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्