मेक्सिकोमा पत्रकारको हत्या, आठ महिनामै आठजना मारिए

काठमाडौ भदौ–१४, बुधबार मेक्सिकोको कानकुन सहरमा एकजना टेलिभिजन पत्रकारको गोली हानी हत्या गरिएको छ । मेक्सिकोमा यसै वर्ष २०१८ को आठ महिनाभित्रै आठ जना पत्रकारको हत्या भएको छ । उनी क्यानल १० नामक टेलिभिजनमा क्यामेराम्यान र संवाददाताको रुपमा काम गर्दथे । उनको नाम जाभियर एनरिक रोड्रिगेज भाल्लाडेर हो । टेलिभिजन स्टेशनले उनको मृत्यु भएको पुष्टी गरेको जनाएको छ ।

क्वीन्टाना राज्यको सरकारले पत्रकार एनरिक सहित अर्को व्यक्तिको पनि गोली हानी हत्या गरिएको जनाएको छ । उनीहरु दुबैमाथि कानकुन नगरमा सकडमा हिँडिरहेको समयमा गोली प्रहार भएको थियो ।

कानाल १० टेलिभिजन स्टेशनले एनरिकले खासगरी दृश्य छायाँकनको काम गरेपनि कतिपय राजनीतिक विषयमा अन्तर्वार्ता लिने गरेको जनाएको छ । राज्य सरकारले पत्रकारको हत्या उनको पत्रकारिताको कार्यसँग जोडिएको प्रमाण तत्काल नपाइएको बताउँदै घटनाको बारेमा अनुसन्धान सुरु भइसकेको जनाएको छ ।

दुई महिनाको अवधिभित्रै क्वीन्टानामा मारिएका पत्रकारमा एनरिक तेस्रो हुन् । यसअघि जुलाई महिनामा प्लाया न्यूजका प्रधान सम्पादक रुबेन पाटको प्लाया डेल कार्मेनमा गोली हानी हत्या भएको थियो । गत वर्ष पनि मेक्सिकोमा ११ जना पत्रकार मारिएका थिए । यस्ता जघन्य अपराधका दोषीमाथि कुनै पनि कारबाही नभएको विभिन्न वाकस्वतन्त्रता पक्षधर संस्थाहरुको भनाई छ ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्