नेपाल-भारत सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्न सुरक्षा चेकजाँचमा कडाई

काठमाडौं ।  झापाको नेपाल–भारत सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न सुरक्षा चेकजाँचमा कडाई गरिने भएको छ ।

नेपाल र भारतका सुरक्षा निकायका पदाधिकारीबीच भारत बिहारको किसनगन्जमा भएको बैठकले सुरक्षा चेकजाँचमा कडाई गर्ने सहमति गरेको हो ।

नजिकिंदै गरेका चाडपर्वका बेला तस्करी बढी हुने ठहर गर्दै बैठकले सीमा क्षत्रेमा सुरक्षा सतर्कता अघि बढाउने सहमति गरेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरीनिरीक्षक प्रकाश जवेगुले जानकारी दिए ।

बैठकमा नेपालका तर्फबाट जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल, सशस्त्र प्रहरी बलको झापा गण नम्बर २ का सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुलगायत सहभागी थिए ।

त्यसैगरी भारतीय एसएसबीका एडिजी ज्योतिमर्य चक्रवती र आइजी श्रीकुमार बंधोपाध्याय सहभागी थिए ।

भारतीय एसएसबीका एडिजी चक्रवतीले रोटीबेटीको सम्बन्धलाई कायम राख्दै जनतालाई दुःख नदिने गरी सुरक्षा जाँच गर्न सीमामा तैनाथ भारतीय एसएसबीलाई निर्देशन दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्