बिमस्टेक सम्मेलन आजदेखि, आपसी सहयोगका विविध विषयमा छलफल हुने

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन बिहीबारदेखि सुरु हुँदैछ । काठमाडौँमा हुने शिखर सम्मेलनको तयारी पूरा भएको छ ।

सम्मेलनमा सहभागी हुन सदस्य–मुलुक श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक बुधबार आइपुगेका छन् ।

म्यानमारका राष्ट्रपति यु विन मिन्ट मंगलबारै आएका छन् । बिहीबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ आउँदै छन् ।

विदेश सचिव स्तरीय पछि विदेशमन्त्री स्तरीय बैठकले शिखर सम्मेलनमा प्रस्तुत गरिने सहमतिका विषयवस्तु तथा एजेण्डाहरु तय गरेका छन् ।

सम्मेलनको अन्तिम तयारी स्वरुप बुधबार भएको विदेश मन्त्री स्तरीय बैठकले अन्तर्राष्ट्रिय अपराध र मानव तस्करी अन्त्यका लागि शून्य सहनशीलताको नीति अपनाउने समझदारीमा हस्ताक्षर गर्ने निर्णय गरेको छ ।

बिमस्टेकको १६ औँ मन्त्रीस्तरीय बैठकले सदस्य राष्ट्रहरुबिच अन्तर्राष्ट्रिय अपराध नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अपनाउने विषयमा शिखर सम्मेलनमा सम्झदारी गर्ने निर्णय गरेको हो ।

मन्त्रीस्तरीय बैठकले शिखर सम्मेलनका लागि १६ वटा विभिन्न एजेन्डा तय गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिएका छन् ।

बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गरिवी निवारण, जलवायु परिवर्तन, मानव तस्करी र अपराध, भोकमरीलगायतका विषयमा सदस्य राष्ट्रहरुबिच सहकार्य गरेर अघि बढनुपर्नेमा जोड दिएका थिए । बैठकले काठमाडौँ घोषणा पत्रलाई अन्तिम रुप दिएको पनि परराष्ट्र मन्त्रालयका प्रवक्ता पौडेलले बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीले बिहीबार बिमस्टेकको चौथो शिखर सम्मेलन उद्घाटन गर्नेछन् । शिखर सम्मेलन शुक्रबार काठमाडौँ घोषणा पत्र जारी गर्दै सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्