म्यानमारका राष्ट्रपति आज लुम्बिनी जाँदै, सुरक्षा व्यवस्था कडा

काठमाडौँ  । म्यानमारका राष्ट्रपति विन मिन्त बुधबार बिहान बुद्धजन्मस्थल लुम्बिनी जाने भएका छन् । काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा सहभागी हुन आएका राष्ट्रपति मिन्त लुम्बिनी जाने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

बौद्धमार्गीहरूको बाहुल्यता रहेको म्यानमारबाट आउने राष्ट्रपतिको स्वागतका लागि लुम्बिनी विकास कोषले लुम्बिनीलाई सिंगारेको छ। लुम्बिनीस्थित मायादेवी मन्दिर अगाडि राष्ट्रिय झण्डा, बौद्ध झण्डासहित ध्वजापताकाले सजाइएको छ भने पैदलमार्ग चिटिक्क पारिएको छ।

राष्ट्रपति मिन्त बिहान साढे ९ बजे काठमाडौँबाट चार्टर विमानमा भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा ओर्लिएर हेलिकोप्टरमार्फत लुम्बिनी जाने कार्यक्रम रहेको छ।

२८ सदस्यीय टोलीसहित आउने राष्ट्रपति मिन्तलाई लुम्बिनीमा संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारी, प्रदेश ५ का प्रमुख उमाकान्त झा, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले स्वागत गर्ने छन्।

त्यसपछि राष्ट्रपति मिन्तले मायादेवी मन्दिरमा १० मिनेट दर्शन र प्रार्थनामा बिताउने छन्। प्रार्थनापछि लुम्बिनी गुरुयोजनाबारे जानकारी गराउने कार्यक्रम रहेको छ।छोटो औपचारिक कार्यक्रमपछि लुम्बिनीमा म्यानमार सरकारले बनाएका गुम्बा र बिहारको अवलोकन गरेर होटल कासाईमा खाना खाने कार्यक्रम तय भएको छ।

केहीबेर आराम गरेपछि मिन्त काठमाडौं फर्किने लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए।

बुधबार बिहान साढे ८ बजेदेखि भैरहवा विमानस्थलदेखि लुम्बिनीसम्मको क्षेत्रमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ। लुम्बिनीमा पनि बुधबार सर्वसाधारणले प्रवेश पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस्