शीतयुद्धपछि पहिलो पटक विशाल सैन्य अभ्यास गर्ने रुसको घोषणा

काठमाडौं । रुसले सोभियतकालीन युद्ध अभ्यासपछि सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने घोषणा गरेको छ ।

रुसले गरिरहेको व्यवहारप्रति पश्चिमा मुलुकहरुले बढाइरहेको चासोकै बीच रुसी रक्षामन्त्री सर्गेइ सोएगुले आगामी महिना शीतयुद्धपछि पहिलो पटक सबैभन्दा विशाल युद्ध अभ्यास गर्ने घोषणा गरेका हुन् ।

‘भोस्टक–२०१८’ नामाकरण गरिएको सो सैन्य अभ्यासमा ३ लाख सुरक्षाकर्मी, ३६ हजार ट्यांक तथा बख्तरबन्द गाडि एवम् एक हजारभन्दा बढी लडाकु विमान सहभागी गराइने भएको छ ।

सेप्टेम्बर ११ तारिखदेखि पाँच दिनसम्म हुने अभ्यासमा मुलुकका केन्द्रदेखि पूर्वी क्षेत्रसम्मका सबैतहका सेनाको प्रतिनिधित्व हुने रक्षामन्त्री सर्गेइले जानकारी दिए ।

उनले यो अभ्यास पूर्वी यूरोपमा सन् १९८१ मा गरिएको झापड–८१ को झलक दिने खालको तर कतिपय बिषयमा अझ विशाल अभ्यास हुने बताए ।

३६ हजार सैनिक हतियार, हतियार ट्यांक, सैन्य गाडीहरू एकैपटक चलेको यो पक्कै अनौठो हुने उनको भनाइ थियो ।

रुसले गर्ने अभ्यासमा उत्तरी तथा प्रशान्त जलसेनाका टोलीहरुका साथै चिनियाँ तथा मंगोलियाका सेना पनि सहभागी हुने बताइएको छ ।

रुसको सशस्त्र फौजमा कम्तिमा १० लाख सदस्य छन् ।

भोस्कोट २०१८ को सैन्य अभ्यासमा सहभागी फौज र विमानको परिमाण दोस्रो विश्वयुद्धताका भएका ठूला लडाइँमा खटिएका सेनाको संख्या बराबर हो ।

सो सैन्य अभ्यास राष्ट्रपति भ्लादिमिर पुटिनले पनि निरीक्षण गर्नुहुने बताइएको छ ।

रुसले गत वर्ष झापड–२०१७ नामक सैन्य अभ्यास गरेको थियो जसमा १२ हजार ७ सय सेनाको प्रयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्