निर्मला पन्त हत्या प्रकरणः बम दिदी–बहिनीको बयान सुरु, अभियुक्त बिष्टलाई काठमाडौं ल्याइयो

काठमाडौं। महेन्द्रनगरकी बालिका निर्मला पन्त हत्याको अनुसन्धानमा पक्राउ परेका रोशनी बम र बबिता बमको बयान सुरु भएको छ। मंगलबारदेखि उनीहरुको लिखित बयान सुरु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उनीहरुले इन्कारी बयान नै दिएको स्रोत बताउँछ।

उनीहरुलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न सोमबार प्रहरीलाई अदालतले अनुमति दिएको थियो।

साउन १० गते उनीहरुकै घरमा जाँदा पन्तको हत्या भएको थियो। तर, उनीहरुमाथि प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको भन्दै मृतकका आफन्त प्रहरीसँग रुष्ट भई आन्दोलन गरेका थिए। रोशनी निर्मलाकी साथी हुन्। भने बबिता उनको दिदी हुन्। बबिताको केही हप्ताअघि मात्र बिहेको इंगेजमेन्ट भएको थियो।

स्थानीयको दबाबमा शनिबार उनीहरु पक्राउ परेका हुन्। उनीहरुमाथि विस्तृत अनुसन्धान नगर्दा अभियुक्त पत्ता नलागेको पीडितहरुको भनाई छ।

सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानबिन समितिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ। जिल्लाका सिडिओ र एसपी समेत हेरफेर गरेर नयाँ कोणबाट अनुसन्धान अघि बढाइएको छ।

अभियुक्त विष्टलाई काठमाडौं ल्याइयो 
प्रहरीले पन्तको हत्या र बलात्कार आरोपमा पक्राउ गरेका दिलीपसिंह बिष्टलाई काठमाडौं ल्याइएको छ। डिएनए परिक्षण तथा थप स्वास्थ्य चेकजाँचका लागि मंगलबार काठमाडौं ल्याइएको  प्रहरीले बताएको छ।  उनलाई शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

उनले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ। पक्राउ गर्ने प्रहरी अधिकारीहरुले बिष्ट नै प्रमुख अभियुक्त भएको दाबी गरेका छन्। डिएनए परिक्षणपछि विस्तृत विवरण खुल्ने प्रहरीको भनाई छ।

मानसिक रोगी रहेका बिष्टले हत्या गरेको भनेर प्रहरीले चित्तबुझ्दो प्रमाण दिन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्