बिमस्टेक सम्मेलनको सुरक्षा नेतृत्व सेनाले गर्नेः यस्तो छ सुरक्षा तयारी

काठमाडाैं । बिमस्टेक सम्मेलनको सुरक्षा नेतृत्व सेनाले लिने भएको छ। सरकारले सेना, प्रहरी र सशस्त्र प्रहरी सम्मिलित एकीकृत सुरक्षा प्रणाली निर्माण गरी त्यसको नेतृत्व सेनालाई दिएको हो।

सम्मेलनमा सहभागी हुन आउने विभिन्न देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख एवं उच्चपदस्थ सरकारी अधिकारीका निम्ति चार घेरे सुरक्षा प्रबन्ध गरिएको छ। पहिलो घेरामा सेना रहनेछ भने त्यसपछि क्रमशः प्रहरी, सशस्त्र प्रहरी र गुप्तचर टोली रहनेछन्। यो खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्।

परिस्थितिको विश्लेषण र तुरुन्तै गर्नुपर्ने निर्णयका निम्तिसमेत सेनाले नै कमान्ड सम्हाल्ने छ। यसका साथै तीनै सुरक्षा निकायको केन्द्रीय कार्यालयमा रहेको कमान्ड सेन्टरले समेत सूचना आदानप्रदान, सुरक्षा विश्लेषण र समन्वयको काम गर्नेछन्। प्रहरी स्रोतका अनुसार सुरक्षा व्यवस्था चुस्त राख्न तीनवटा जामर प्रयोग गरिनेछ। बिमस्टेकमा आएका पाहुना हिँड्ने बाटो, कार्यक्रम तथा भ्रमण स्थलमा प्रयोग गरिने जामरले करिब ५ सय मिटरवरपर मोबाइललगायत अन्य सिग्नल निस्तेज गर्नेछ।

प्रहरीले यसपटक भेहिकल स्क्यानर पनि प्रयोगमा ल्याउनेछ। प्रहरी अधिकारीका अनुसार उच्चपदस्थ केही पाहुनाले लुम्बिनी भ्रमण गर्ने भएकाले एउटा भेहिकल स्क्यानर मेसिन त्यता पठाइनेछ। सवारीहरू भुइँमा ओछ्याइएको स्क्यानर पार भएर जानेछन्। स्क्यानरले गाडीको तल्लो भागको चित्र र भिडियो खिच्नेछ, जसले सुरक्षा खतराका बारेमा जानकारी मिल्नेछ। प्रहरीले पहिलो पटक २ वटा पोर्टेबल ब्यागेज स्क्यानर पनि प्रयोग गर्न लागेको छ। कार्यक्रमस्थल र आवास स्थलमा लैजाने ब्याग र अन्य लगेजको जाँचका निम्ति यस्तो स्क्यानर प्रयोग गर्न लागिएको हो।

प्रहरीले सुरक्षाका निम्ति किनिएका नयाँ ४ र पुराना २५ गरी २९ वटा वाक थ्रु स्क्यानर प्रयोगमा ल्याउने तयारी गरेको छ। कार्यक्रम र भ्रमण स्थलमा सहभागीहरू अनिवार्य रूपमा वाक थ्रु गेट भएर हिँड्नुपर्नेछ। यस्तो मेसिनले मानिसको साथका केही शंकास्पद डिभाइस भएको खण्डमा सूचना दिनेछ। प्रहरीले आन्तरिक सञ्चारका निम्ति चारवटा रेडियो रिपिटर सिस्टम पनि प्रयोगमा ल्याउने भएको छ। हालै खरिद गरिएको रेडियो रिपिटर प्रहरीको आन्तरिक सूचना हयाक गरेर कसैले सुन्न नसक्ने अत्याधुनिक प्रविधिको छ।

प्रतिक्रिया दिनुहोस्