पाँच दिन अन्तर्राष्ट्रिय उडान प्रभावित, २ दिन २४ घण्टा सञ्चालन
काठमाडाैं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन काठमाडौंमा हुने भएकोले आजदेखि शनिबारसम्म विमानस्थलका उडान तथा अवतरण प्रभावित हुने भएका छन् ।
विशिष्ट पाहुनाहरुको उडानको समयमा विमानस्थलमा अन्य व्यावसायिक उडान बन्द गर्ने परम्परा रहेको छ । सोहीअनुसार सम्मेलनको क्रममा सरकार प्रमुखहरु आउने भएकोले उडान तथा अवतरण प्रभावित हुने भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । विमानस्थल वरपरको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।
आज म्यानमारका राष्ट्रपति विन मिन्ट आउने कार्यक्रम रहेको छ । बिहिबारदेखि काठमाडौंमा सुरु हुने सम्मेलनमा भाग लिन सम्मेलनकै दिन भारत, बंगलादेश र थाइल्यान्डका सरकार प्रमुख काठमाडौं आउने कार्यक्रम रहेको छ । शुक्रबार र शनिबार उनीहरु स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
फर्कदा पनि उडान तथा अवतरण प्रभावित हुने भएको छ । अति विशिष्ट उडानको कारणले प्रभावित भएका उडानलाई सामान्य पार्नको लागि बिहीबार र शुक्रबार २४ घण्टा विमानस्थल संचालन गर्ने विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्