लिम्बुवान प्रदेशको माग गर्दै विराटनगरमा प्रदर्शन, मुख्यमन्त्रीको राजीनामा माग
काठमाडौं । प्रदेशको नाम लिम्बुवान राख्नुपर्ने माग राख्दै विराटनगरमा प्रदर्शन भएको छ ।
१ नम्बर प्रदेशको नाम अन्तिम टुंगो लगाउनको लागि विभिन्न समयमा प्रदेश सरकारका मन्त्रीबाट आएको अभिव्यक्तिसँगै पहिचानको नारा लिएर अघि बढ्दै पार्टी तथा संघसंस्था विभिन्न नाम लिएर बाहिर देखिन थालेका छन् । प्रदेशका विभिन्न जिल्लाबाट आएका व्यक्तिले प्रदेशसभा अगाडि प्रदर्शन गर्दै मुख्यमन्त्री शेरधन राईको राजीनामा माग गरेका छन् ।
यसअघि पनि लिम्बुवान प्रदेशको माग गर्दै आन्दोलनमा रहेको लिम्बुवान पार्टीले सरकारले माग सम्बोधन नगरे आन्दोलनमा जाने चेतावनी दिइसकेको छ । करीब १० वटा गाडीमा विराटनगर आएका लिम्बुवान समर्थक बजारमा मार्चपास गर्दै अस्पताल रोड पुगेका थिए । सुरक्षाकर्मीले उनीहरूलाई अस्पताल मोडमै रोकेको थियो ।
प्रदर्शनमा सहभागीले प्रदेशको नाम लिम्बुवान राख्नुपर्ने, बढ्दो महंगी रोक्नुपर्ने र कर्मचारीले समेत नटेर्ने मुख्यमन्त्री शेरधन राईले राजीनामा दिनुपर्ने माग गरेका छन् ।
यसअघि किरात राईहरूले प्रदेशको नाम किरात राख्नुपर्ने माग गर्दै आएका थिए । प्रदेशको नाम सगरमाथा, कोशी वा किरातमध्ये एक राख्नेबारे चर्चा चलिरहेका बेला लिम्बुवानको माग पनि अघि आएको छ ।
प्रतिक्रिया दिनुहोस्