निर्मला पन्तको परिवारलाई प्रदेश सरकारले ५ लाख राहत दिने
काठमाडौँ । कञ्चनपुरमा मारिएका निर्मला पन्त र सनी खुनाको परिवारलाई प्रदेश ७ सरकारले ५/५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । आइतबार कञ्चनपुरको महेन्द्रनगरमा पन्त र खुना परिवारको भेटेर प्रदेश ७ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले ५/५ लाख रुपैयाँ राहत घोषणा गरेका हुन् ।
कञ्चनपुरमा १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको हो भने हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोली लागेर १४ वर्षीय सनी खुनाको मृत्यु भएको थियो ।
केन्द्र सरकारले पनि पन्त र खुनाको परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने घोषणा गरेको थियो ।
आइतबार प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री प्रकाश शाह, नेपाल कम्युनिस्ट पार्टीका नेता लेखराज भट्टलगायतका नेताहरु बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घरमा पुगेर परिवारसँग भेट गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्