निर्मला हत्या प्रकरण : उच्चस्तरीय टोलीले छानबिनको काम सुरु गर्याे!
काठमाडौं । गृहमन्त्रालयबाट गठित उच्चस्तरीय छानबिन टोलीले आइतबारबाट छानबिनको काम थालेको छ ।
गृहका वरिष्ठ सह सचिव हरिप्रसाद मैनाली नेतृत्वको छानबिन टोलीले आइतबार बम परिवारको घर र घटनास्थलको अनुगमन र पीडित परिवारसँग घटनाका बारेमा सोधबुझ गरेकोे छ । निर्मला साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएका बेला हराएकी थिइन । उनको साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
प्रहरीले निर्मलाको बलात्कार र हत्याको अनुसन्धानमा तदारुकता नदेखाएपछि स्थानीयले त्यसको विरोध गर्दै आन्दोलन र प्रदर्शनलाई चर्काएका थिए ।
स्थानीय र निर्मलाका परिवारले बम दिदी बहिनीमाथी अनुसन्धान हुनुपर्ने माग राख्दै आए पनि तत्कालीन एसपी डिल्लीराज विष्टले आनाकानी गर्दै मानसिक अवस्था ठिक नभएका दीलिप विष्टलाई निर्मलाको बलात्कार र हत्याको अभियोगमा सार्वजनिक गरेपछि स्थानीयले गरेको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो ।
स्थानीयले प्रहरीको अनुसन्धानमा नै शंका गरेपछि गृहमन्त्रालयले प्रहरीले अहिलेसम्म गरेको अनुसन्धानको छानबिनका लागि उच्चस्तरिय छानबिन टोली गठन गरी कञ्चनपुर पठाएको छ ।
टोलीले १५ दिनभित्र घटनाको छानबिन तथा अनुसन्धान गरेर गृहमन्त्रालयमा प्रतिवेदन पेश गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्