कञ्चनपुर आन्दोलन : ३ जनाको सेती अस्पतालमा उपचार हुँदै, २ जनालाई कोहलपुर रिफर

काठमाडौँ । निर्मला पन्तको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै शुक्रबार भएको आन्दोलनमा गोली लागि घाइते भएकाहरुको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।

घाइतेहरु चेतन भट्ट, कबिन्द्र सिंह र दामोदर खत्रीको उपचार भैरहेको अस्पतालका डा. गोविन्द रावतले जानकारी दिए । डा. रावतका अनुसार घाइतेद्वय सुरेश प्रकाश चटौत र उमेश देउवालाई सामान्य उपचारपछि थप उपचारको लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ ।

घाइते बालक चेतन भट्टले आन्दोलनमा सहभागि भएर घर फर्कंदै गरेको अवस्थामा गोली लागेको बताए ।

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओड अस्पताल पुगेर उपचारमा संलग्न चिकित्सकसँग परामर्श गरेका छन् । उनले घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिन पनि निर्देशन दिएका छन् । मेयर ओडले शुक्रबार राति अबेरसम्म अस्पतालमा रहेर घाइतेहरुको उपचारका विषयमा जानकारी लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्