नयाँ बानेश्वरमा युवती बलात्कृत, चार महिनापछि खुल्यो तथ्य

काठमाडाैं  । घटना भएको झन्डै चार महिनापछि काठमाडौंको नयाँ बानेश्वरमा एक युवतीमाथि बलात्कार भएको तथ्य खुलेको छ । घटनामा संलग्न भएको आरोपमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १० का २४ वर्षीय अनुपसिंह विष्ट पक्राउ परेका छन् ।

विष्टलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले तीन दिनअघि पक्राउ गरेको हो । पीडित युवतीको किटानी जाहेरीपछि प्रहरीले सिंहलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । तर, पर्याप्त प्रमाण नपुगेको भन्दै तारेखमा छाडेको थियो । दबाब बढ्दै गएपछि प्रहरीले सिंहलाई शुक्रबार पुनः हिरासतमा लिएको छ ।

वृत्तका प्रमुख डिएसपी गोविन्द काफ्लेले भने बलात्कारको किटानी जाहेरी परेपछि सिंहलाई पक्राउ गरिएको तर, थप तथ्य ल्याउन ढिला हुँदा तारेखमा राखेको बताए ।

पीडित युवतीले भने किटानी जाहेरीपछि पनि प्रहरीले अभियुक्त पक्राउ गर्न विलम्ब गरेको बताइन् । युवतीले भनिन्, ‘निकै साहस गरेर घटनाको उजुरी गर्न प्रहरी कार्यालय पुगेका थियौँ । सुरुमा त प्रमाण नपुगेको भन्दै जाहेरी लिन इन्कार भयो । हामीसँग वकिल पनि थिए । उनको आग्रहपछि किटानी जाहेरी दर्ता भयो  ।

तर, अभियुक्त पक्राउ गर्न प्रहरीले विलम्ब गर्यो । पछि हाम्रै सक्रियतामा अभियुक्त पक्राउ परे । फेरि प्रमाणको खोजी भयो । पक्राउ परेका विष्टलाई तारेखमा छाडिएछ । अहिले उनलाई हिरासतमा लिएको भन्ने सुनेकी छु।’

यसरी भयो घटना
बिबिएस अध्ययन सकेर बसेकी युवती अस्ट्रेलिया जान आइएलटिएसको तयारी गर्दै थिइन् । धनगढीबाट वर्ष दिनअघि मात्रै काठमाडौं आएकी उनी नयाँ बानेश्वरमा बहिनीसहित डेरामा बस्थिन्।

सोही घरको माथिल्लो फ्यालाटमा कञ्चनपुरको भीमदत्त नगरपालिका १० का २४ वर्षीय अनुपसिंह विष्ट बस्थे । बहिनी साइनो लगाएर बारम्बार युवतीको कोठामा छिर्थे । कहिले तरकारी माग्ने निहुले त कहिले मसला पैँचो माग्न जान्थे । २१ वैशाखमा भने उनीसँग बहिनी थिइनन् । ढोका ढप्काएर उनी खाना बनाउँदै थिइन्।

८ः३० बजेतिर विष्ट भेडे खुर्सानी ‘क्यप्सिकम’ माग्न आए । युवती ¥याकमा रहेको खुसार्नी झिक्दै थिइन् । त्यही मौकामा विष्टले ढोकाको चुकुल लगाए । युवतीलाई समाते । मुख थुने । हल्ला गरे मारिदिने धम्की दिए । डराएकी युवती चुपचाप रहिन् । विष्टले मौकाको फाइदा उठाउँदै बलात्कार गरे। नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्