अमेरिका–उत्तर कोरिया सम्बन्ध: ट्रम्पले रद्द गरे विदेशमन्त्री पोम्पेओको उत्तर कोरिया भ्रमण

काठमाडौँ ।  अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ तत्काल उत्तर कोरिया नजाने भएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया भ्रमणको तयारीमा रहेका विदेश मन्त्री पोम्पेओलाई भ्रमण रद्द गर्न भनेका छन् । त्यसपछि पोम्पेओले तयारी गरेको उत्तर कोरिया भ्रमण तत्कालका लागि रोकेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

पोम्पेओ निकट भविष्यमा उत्तर कोरिया जाने छैनन् । कोरिया प्रयाद्विपमा परमाणु निशस्त्रिकरण गर्ने प्रक्रियामा अवश्यक प्रगति नभएको राष्ट्रपति ट्रम्पले ट्वीट मार्फत बताएका छन् । यसो हुनुमा चीन दोषी रहेको पनि ट्रम्पले बताएका छन् ।

अमेरिकासँगको व्यापारिक तनावका कारण चीनले परमाणु निशस्त्रिकरणमा उत्तर कोरियालाई चाहिने जति दाबब नदिएको ट्रम्को भनाई छ ।

गएको जुनमा सिंगापुरमा भएको ऐतिहासिक ट्रम्प–किम वार्तापछि उत्तर कोरिया परमाणु निशस्त्रिकरणका लागि तयार भएको थियो । त्यसपछि ट्रम्पले उत्तर कोरियाबाट अब परमाणु हतियारको डर नरहेको बताएका थिए ।

तर त्यो वार्तापछि धेरै पटक उत्तर कोरियाको परमाणु निशस्त्रिकरणमा आवश्यक प्रयास नभएको कुरा आइरहेका छन् । पछिल्लो पटक एक अमेरिकी अधिकारीले द वासिङ्टन पोस्टलाई उत्तर कोरियाले नयाँ अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल बनाउँदै गरेको बताएका थिए ।

त्यसपछि तनाव थप गम्भीर बनेको छ । संयुक्त राष्ट्रसंघको परमाणु एजेन्सी, आइएइएले पनि उत्तर कोरियाले परमाणु कार्यक्रमलाई निरन्तरता दिएको बताएको छ ।

पोम्पेओ आउँदो हप्ता उत्तर कोरिया जाने तयारी थियो । उनको साथमा उत्तर कोरियाका लागि नियुक्त भएका नयाँ विशेष दूत स्टिफन बिगान पनि जाँदै थिए । विदेश मन्त्री पोम्मेओको चौथो उत्तर कोरिया भ्रमण हुँदै थियो ।

यो भ्रमणको क्रममा उत्तर कोरियाका नेता किम जोङ–उनसँग भेट्ने तयारी भने थिएन । तत्कालका लागि भ्रमण रोकिए पनि पोम्पेओले अर्को मितिमा उत्तर कोरियाको भ्रमण भने गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्