कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्दैछ । शुक्रबार नै बस्ने भनिएको बैठक शनिबारका लागि सारिएको हो ।
पार्टीको महासमिति बैठकको तयारी र अन्य समिति गठन सम्बन्धमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्षनेताबिच शुक्रबार दिनभरको छलफल र सहमतिपछि बैठक केन्द्रीय समितिको बैठक शनिबार बिहान ११ बजे बस्ने तय भएको हो ।
पार्टीका विभिन्न समितिको गठन र महासमिति बैठकको तयारीका सम्बन्धमा शीर्षनेताबिच सल्लाह गरी टुङ्गो लगाएर मात्र बैठक बस्ने सहमति भएपछि बैठक शनिबारका लागि तय भएका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुले जानकारी दिए ।
महासमिति बैठकको स्थान र मिति, कार्यसम्पादन तथा अनुशासन समिति गठनका सम्बन्धमा नेताहरूबीच छलफल भएको उनले बताए । गएको वैशाख १६ गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले यही भदौ महिनामा महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको थियो।
उक्त बैठकले स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनर्संरचनाअनुसार पार्टीको पुनर्संरचना गर्न पार्टीको विधानमा समयानुकूल परिमार्जनका लागि विधान संशोधन मस्यौदा समिति बनाउने निर्णय पनि गरेको थियो ।
त्यहि निर्णयअनुसार बिहीबार कांग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । मस्यौदा समितिमा कांग्रेसका जिल्ला सभापतिले पनि सहभागिता खोजेपछि शीर्षनेताले त्यसलाई सम्बोधन गर्ने सम्बन्धमा पनि छलफल गरेको उनले बताए ।
गएको असार पहिलो हप्ता मकवानपुरको हेटाैँडामा सम्पन्न कांग्रेसका जिल्ला सभापतिहरूको राष्ट्रिय भेलामा शीर्ष नेताले मस्यौदा समितिमा जिल्ला सभापतिको पनि सहभागिता हुने आश्वासन दिएका थिए ।
मस्यौदा समितिले विधान संशोधनका लागि गर्ने तयारीको समयावधिलाई ध्यान दिएर महासमिति बैठकको मिति तोक्ने र काठमाडौँ वा पोखरामध्ये एक स्थानमा महासमिति बैठक गर्ने सम्बन्ध छलफल भएको बताइएको छ ।
यसअघि गठन गरिएको कार्यसम्पादन समितिका बारेमा विवाद देखिएपछि उक्त समिति विघटन गरिएको थियो । कांग्रेस विधानको दफा २९ बमोजिम कार्यसम्पादन समितिमा सभापति, उपसभापति, दुई महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ताका साथै केन्द्रीय समितिबाट बढीमा २२ जना रहने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्