पश्चिमका केही ठाउँमा निकै ठूलो पानी पर्ने, अन्तको मौसम कस्तो रहला?
काठमाडौँ । दिनभर देशभरको मौसम सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद सुवास रिमालले बताएका छन् ।
दिउँसो मध्य तथा पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । यस्तै रातिको मौसम सामान्यदेखि पूर्ण बदली हुने र धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति पश्चिमका केही ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको छ । यस्तै मध्य क्षेत्रका केही ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । पूर्व क्षेत्रको मौसम पनि बलदी हुने र पानी पर्ने सम्भावना रहेको छ ।
मनसुनी गतिविधि सक्रिय रहेकाले देशभर पानी पर्ने देखिएको मौसमविद रिमालले बताए । रातिमा विशेष गरी मध्य र पश्चिममा ठूलो पानी पर्ने भएकाले नदी आसपास तथा तटीय क्षेत्रका बासिन्दा र पहिरोका जोखिम रहेको क्षेत्रका बासिन्दा सचेत हुनु पर्ने मौसमविद रिमालले बताए ।
प्रतिक्रिया दिनुहोस्