महेन्द्रनगरमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु, ५ प्रदर्शनकारी घाइते
काठमाडौं । १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनालाई लिएर अशान्त बनेको महेन्द्रनगरमा आज पुनः गोली चलेको छ। बिहानदेखि महेन्द्रनगर बजार शान्त रहेको अवस्थामा अपरान्ह अचानक माहोल भड्किएको हो।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले विवादास्पद अभिव्यक्ति दिएको भन्दै सोको विरुद्ध कञ्चनपुरमा पुनः प्रदर्शन सुरु गरिएको हो।
शुक्रबार बिहान अन्तर्वार्ताका क्रममा नेता रावलले निर्मला पन्तको हत्या प्रकरणलाई का्रग्रेसले उग्र बनाइरहेको भन्दै विवादित अभिव्यक्ति दिएका थिए।
उक्त अभिव्यक्तिको विरोधमा नेपाल विद्यार्थी संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले एक राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ।
प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
प्रदर्शनकारीको मृत्यु भएको सन्दर्भमा प्रमुख जिल्ला अधिकारी तारानाथ अकिारीले भने गोली नचलेको दाबी गरे। उनले भने,‘गोली चलाउन आदेश दिएका छैनौं। त्यही भएर गोली चलेको छैन।’
आन्दोलनलाई उग्र हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेरबहादुर कठायतले जानकारी दिए।
रावलको अभिव्यक्तिको सामाजिक सञ्जालमासमेत चर्को विरोध भइरहेको छ भने कांग्रेसको भातृ सगठन नेविसंघले आन्दोलन सुरु गरेको हो।
निर्मला पन्त प्रकरणमा तिन दिनदेखि अशान्त बनेको महेन्द्रनगर सरकारले उच्च स्तरिय छानविन समिति गठन, सिडिओ, एसपी र डिएसपी परिवर्तन गरेसगै आजबाट केही शान्त बनेको थियो।
प्रतिक्रिया दिनुहोस्