बिमस्टेक सम्मेलनको तयारी पूरा, मोदी काठमाडौं आउँदा भारतसँग २ सम्झौता हुने
काठमाडौं । बुहपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । यही भदौ १४ र १५ मा शान्त, सम्बृद्ध र दीगोपनाका लागि बंगालदको खाडीतर्फ भन्ने मूल नाराका साथ काठमाडौंमा हुनलागेको बिमिस्टेकको आन्तरिक र बाह्य तयारी अन्तिम चरणमा पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
तयारी सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले साना तिना कामहरु बाहेक मूख्य तयारी सकिएको जानकारी दिए । सम्मेलनमा नेपाल कसरी प्रस्तुत हुन्छ, कस्ता दस्ताबेजहरुबारे छलफल गर्ने, कस्तो काठमाडौं घोषणा पत्र आउँछ भन्नेबारे छलफल अन्तिममा पुगेको छ भने अन्य बाह्य पक्षहरु, पाहुनाहरु को–को आउने, कहिले आउने, कार्यक्रमस्थलहरुबारे पनि तयारी भइसकेको जनाइएको छ । सम्मेलनमा बिमिस्टेक क्षेत्रका ७ वटै देशका राष्ट्र प्रमुख तथा कार्यकारी प्रमुखको उपस्थिति रहनेछ ।
सम्मेलनमा बंगलादेशको प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानन्याधीश योङ ओ छिरिङ वाङ्चो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति युमिन मिच, श्रीलङ्कन राष्ट्रपति मेट्रीपाला श्रीसेना र थाइल्याण्डका प्रधानमन्त्री सहभागी हुनेछन् । सम्मेलनमा भाग लिन म्यानमारका राष्ट्रपति युमिन मिच आगामी मंगलबार १२ गते साँझ काठमाडौं आइपुग्ने कार्यक्रम छ । उनले १३ गते नेपालमा दुइपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
यसैगरी १३ गते बुधबार श्रीलङ्कन राष्ट्रपति मेट्रीपाला श्रीसेना र भुटानका प्रधानन्याशीस योङ ओ छिरिङ वाङ्चो नेपाल आइपुग्ने कार्यक्रम छ । सम्मेलन उद्घाटनको दिन १४ गते बिहान भारतीय प्रधानमन्त्री मोदी, बंंगलादेशको प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री आइपुग्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
१४ गते दिउँसो राष्ट्रपति भवन शितलनिवासमा भेटघाट तथा दिवाभोज कार्यक्रपश्चात होटल सोल्टीमा सम्मेलनको उद्घाटन हुनेछ । साँझ हायात होटलमा रात्रीभोजको कार्यक्रम छ । १५ गते केही महत्वपूर्ण दस्ताबेजहरुमा हस्ताक्षर हुनेछ । सम्मेलनपछि १६ गते श्रीलंकका र म्यानमार राष्ट्रपतिले लुम्बिनीको भ्रमण समेत गर्ने कार्यक्रम छ ।
बिमिस्टेक सम्मेलनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति क्षेत्रमा भारतीय लगानीमा बनेको धर्मशालाको उद्घाटन गरी नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
बंगालको खाडी र बिमिस्टेक षेका राष्ट्रहरुको प्राकृतिक सम्बन्ध अनवरत रुपमा रहेकाले जलवायु परिवर्तन र यसको बचाउका लागि सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने परराष्ट्रमन्त्री ज्ञवालीले विश्वास व्यक्त गरे । सम्मेलनमा सात वटै देशका प्रमुखबीच रेल बिद्युत कनेक्टिभिटिको दस्ताबेजमा हस्ताक्षर समेत हुनेछ । अन्तरक्षेत्रीय व्यापार तथा पर्यटनको विकासमा जोड दिइनेछ । यस्तै बिमिस्टेक क्षेत्रमा गरिबी निवारण गर्नेबारे पनि छलफल हुनेछ ।
बिमिस्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । यसको पहिलो सम्मेलन सन् २००४ मा थाइल्याण्डमा भएको थियो । दोस्रो भारत र तेस्रो म्यानमारमा भएको थियो। सन् २०१४ मा तेस्रो शिखर सम्मेलन म्यानमारमा भएपछि चौथो शिखर सम्मेलन नेपालले आयोजना गर्न लागेको हो । नेपाल चार वर्षदेखि बिमिस्टेकको अध्यक्ष राष्ट्र हो । भारतसँग सम्बन्ध चिसो भएको पाकिस्तानलाई अलग राखी सन् १९९७ मा यो अन्तर्राष्ट्रिय संगठन गठन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्