कांग्रेसद्वारा विधान मस्यौदा समिति गठन, संयोजकमा पूर्णबहादुर खड्का
काठमाडौं। नेपाली कांग्रेसले विधान मस्यौदा समिति गठन गरेको छ। महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय समिति बनाइएको हो।
समितिका सदस्यहरुमा डा मिनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्र प्रसाद बडु रहेका छन्। त्यस्तै, समितिमा महालक्ष्मी उपाध्याय,आनन्द प्रसाद ढुंगाना,नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक सदस्य रहेका छन्।
विधान मस्यौदा समितिले सभापतिसँग परामर्श गरी आफ्नो कार्यविधि आफैं तयार गर्न निर्देशन दिइएको छ। समितिमा संयोजकलाई आवश्यकता अनुसार व्यक्ति तथा संस्थालाई आमन्त्रण गर्न अधिकार दिइएको छ।
बैशाखमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरे पनि करिब चार महिना पश्चात् मात्रै समिति गठन भएको छ। विधान मस्यौदा समिति नौं सदस्यीय हुने बताइए पनि भागवण्डा मिलाउनका लागि बढाएर ११ सदस्यीय बनाइएको छ।
समितिमा सभापति शेरबहादुर देउवा पक्षका ६ जना, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका ४ जना र बाँकी एक जना पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षका रहेका छन्।
संघीय संरचना अनुसार कांग्रेसको संगठनात्मक संरचना बनाउनका समितिलाई निर्देश गरिएको छ। विधान मस्यौदा समिति समयमा नसक्दा भदौमा महासमिति बैठक हुन नसक्ने देखिएको छ।
प्रतिक्रिया दिनुहोस्