थरुहट संघर्ष समितिद्धारा टिकापुर घटनाको यथार्थ छानबिन गर्न सरकारसमक्ष माग

काठमाडौं। थरुहट संघर्ष समितिले टिकापुर घटनाको यथार्थ छानबिन गर्न सरकारसमक्ष माग गरेको छ।

टिकापुर घटनाको तेस्रो वर्षको अवसर पारेर बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी थरुहट संघर्ष समितिकी संयोजक रुक्मिणी चौधरीले टिकापुर घटनाको यथार्थ छानबिन गर्न सरकारसमक्ष पुनः माग गरेकी छिन्। उनले टिकापुर घटनाको अभियोगमा बन्दी जीवन बिताइरहेका २६ जना बन्दीहरुको तत्काल रिहा गर्न पनि सरकारसँग माग गरेकी छिन्।

पूर्व सांसद समेत रहेकी चौधरीले सरकारले टिकापुर घटनाका पीडितलाई न्याय दिन नचाहेको भन्दै आक्रोश पनि व्यक्त गरिन्। उनले टिकापुर घटनाका पीडितलाई राहतको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।

कार्यक्रममा बोल्दै राष्ट्रियसभाका सांसद हरिराम चौधरीले टिकापुर घटनालाई अपराधीकरण नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले टिकापुर घटनामा निर्दोष नागरिकलाई यातना दिने काम अन्त्य गरेर सो घटनाको यथार्थ छानबिन गर्न सरकारलाई सघाउन पनि सम्बन्धित पक्षसँग आग्रह गरे।

२०७२ साल भदौ ७ गते टिकापुरमा भएको हिंसात्मक झडपमा परी एक बालक र एसएसपीसहित ८ जना सुरक्षाकर्मीको हत्या भएको थियो। सोही घटनाको मुख्य योजनाकारको आरोप लगाइएका रेशम चौधरीसहित २६ जनाले जेल जीवन बिताइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्