वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको नाम फेरिने, आन्तरिक रोजगारी प्राथमिकतामा

काठमाडौं । सरकारले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको नाम फेर्ने भएको छ ।

नाम फेरेपछि बोर्डको नाम ‘वैदेशिक रोजगार व्यवस्थापन बोर्ड’ हुने श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जानकारी दिए ।

बिहीबार प्रतिनिधिसभाअन्तर्गत्को उद्योग, वाणिज्य, उपभोक्ता तथा श्रम समितिको बैठकमा बोल्दै मन्त्री विष्टले अब सरकारको काम वैदेशिक रोजगार प्रवद्र्धन गर्नु नरहेको स्पस्ट पारे ।

सिंहदरबारमा बसेको बैठकमा उनले यो विषय अब सरकारको प्राथमिकतामा नपर्ने पनि जनाए ।

आन्तरिक रोजगारीमा युवालाई आवद्ध गर्दै सरकारले देशभित्रै सम्मानजनक श्रम गर्ने वातावरण बनाउने दाबी उनले गरे ।

वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेको भन्दै मन्त्री विष्टले त्यसलाई बोर्डमार्फत् व्यवस्थापन गरिने प्रस्ट गरे ।

आन्तरिक रोजगारीलाई नै प्राथमिकतामा लैजानु सरकारको लक्ष रहेको उनको भनाइ छ ।

आन्तरिक रोजगार प्रवद्र्धनको काम सुरु भइसकेको भन्दै मन्त्री विष्टले युवालाई सकेसम्म स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गरिने उल्लेख गरे ।

प्रवद्र्धन बोर्डले हाल वैदेशिक रोजगारीमा ज्यान गुमाएकाका परिवार र अंगभंग भएकाहरुलाई क्षतिपूर्ति दिलाउनेलगायतका काम गरिरहेको छ ।

समितिका सदस्यहरुले वैदेशिक राजगारीको क्षेत्र अझैपनि अस्तव्यस्त रहेको गुनासो गर्दै यसलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्