कन्चनपुरमा हवाईफायर, प्रजिअ र प्रहरी प्रमुखको सरुवा माग

काठमाडौं । कन्चनपुरकी निर्मला पन्तका वास्तविक हत्यारालाई पत्ता लगाउन माग गर्दै स्थानीयले प्रदर्शन र आन्दोलन जारी राखेका छन् ।

प्रहरीले निर्मलाको बलात्कार र हत्याको अभियोगमा कन्चनपुरको भीमदत्त नगरपालिका–१९, बागफाँटाका ‘मानसिकरुपमा अस्वस्थ’ दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको भन्दै उनीहरु आक्रोशित भएका हुन् ।

स्थानीयले बुधबार पनि जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गरेका छन् ।

प्रहरीले मानसिक सन्तुलन गुमेका व्यक्तिलाई दोषी देखाएर उम्किन खोजेको उनीहरुको आरोप छ ।

आन्दोलन उग्र बन्दै गएपछि बुधबार प्रहरीले पाँच राउन्ड हवाईफायर र १२ सेल अश्रुग्यास प्रहार गरेको छ ।

तर, स्वतःस्फूर्तरुपमा आन्दोलनमा उत्रिएका नागरिकहरु ठूलो मात्रामा जम्मा भइरहेका छन् ।

विष्टलाई पक्रेको विरोधमा महेन्द्रनगर बजार बन्द गरिएको छ भने विद्यार्थी तथा युवाहरुले वास्तविक दोषी पत्ता लगाउन माग गर्दै विरोधर्‍यालीसमेत निकालेका छन् ।

आन्दोलनमा उत्रिएकाहरुले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा गर्न माग गरेका छन् ।

भीमदत्त नगरपालिका–२ की निर्मला गत साउन १० गते घरबाट साथीको घरमा विज्ञान विषयको उत्तरपुस्तिका लिन गएकोमा ११ गते भीमदत्त नगरपालिका–१८ स्थित उखुबारीमा मृतावस्थामा फेलापरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्