सरकारको समर्थक दल राजपानै सरकारको काम कारवाही प्रति असन्तुष्टि

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले ६ महिनाको अवधि पुरा गर्दा उल्लेख्य काम हुन नसकेको विश्लेषण भैरहँदा सरकारको समर्थक दलले नै सरकारको काम कारवाही प्रति असन्तुष्टि व्यक्त गरेको छ ।

मुख्य विपक्षी दल नेपाली कांग्रेसले सरकार ६ महिनाको अवधिमा पूर्ण असफल भएको निश्कर्ष निकालेको ४ दिन पछि सरकारको समर्थक दल राजपा नेपालले आज असन्तुष्टि व्यक्त गरेको हो ।

६ महिनाको अवधिमा प्रधानमन्त्री ओलीले भाषणबाजी मात्रै गरेको र अधिकांश मन्त्रीहरुको काम पनि प्रचारबाजी मात्रै भएको राजपा नेपालको निश्कर्ष छ ।
रिपोर्टस क्लवमा बोल्दै राजपा नेपालका शिर्ष नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीको ६ महिने कार्यकालमा एउटापनि राम्रो काम हुन नसकेको आरोप लगाए ।

मुख्य विपक्षी दल नेपाली कांग्रेसले पनि केहि दिन अघि पत्रकार सम्मेलन गरेर सरकारको समिक्षा गर्दै विभिन्न ७ मुद्धामा चुकेको आरोप लगाएको थियो ।
सरकारले पूर्णतया असफल भएको कांग्रेसको आरोप थियो । हुनपनि दुइ तिहाइ बहुमत सहितको शक्तिशाली सरकारले ६ महिनामा उल्लेख्य काम भने गर्न सकेन । शुरुआती चरणमा सरकार सुशासनका लागि भन्दै केहि क्षेत्रमा हस्तक्षेप पनि गर्यो ।

यातायातको सिण्डिकेट देखि सुन तस्करी छानवीन प्रकरण सम्म सरकारले चालेका कदमा प्रशंशा पनि भयो । तर केहि समयमै कारवाही तथा छानवीनमा निश्कर्ष दिन भने सरकार असफल भयो । बरु आशा गरिएकै कतिपय मन्त्रीहरु विवादीत बने । कति प्रचारमा केन्द्रित देखिए त कति गुमनाम जस्तै भए ।

विदेश नितीमा सन्तुलन कायम गर्ने र वैदेशिक रोजगार तथा आन्तरिक श्रम बजार व्यवस्थित गर्न सरकारले केही सकारात्मक कदम भने चालेको छ ।

यद्यपी व्यवहारत परिणाम भने अझै देखिएको छैन । मुख्य विपक्षी र समर्थक दल समेतले सरकारको आलोचना गरिरहँदा सत्तापक्ष भने यसलाई मान्न तयार छैन । छ महिनाका अवधिमा विदेश निती देखि सुशासन र विकासको आधार शिला तयार गर्न सरकार सफल रहेको सत्तापक्षको दावी छ । सरकारले विकास र समृद्धिको उडान भर्ने चाँजोपाजो मिलाइरहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दावी छ ।

सुशासन सहित समृद्धि र विकास हासिल गर्नका लागि नितीगत तयारीमै केन्द्रित रहेको सरकार पक्षको दावी छ । राजनीतिक संक्रमणकालको अन्त्यसँगै देशमा संघियता संस्थागत हुँदैछ । अस्थिरता र अराजकता अनि संविधान निर्माणको लामो आन्दोलनकै कारण देश विकासमा निकै पछाडि परेको अवस्था छ । अहिले देशमा दुइ तिहाइ बहुमत सहितको सरकार छ । राजनीतिक हिसाबले पनि उल्लेख्य काम देखाउने वातावरण छ ।

सोहि अनुसार नागरिकको अपेक्षा पनि ठुलो छ । तर सरकारले ६ महिनामा उल्लेख्य काम नगर्दा नागरिक निराश बन्न थालेका छन् । सुशासन सहित विकास र समृद्धिको उडान भर्ने आश्वासन बाँडिरहेको सरकारले अब पनि ढिला गरे नागरिकमा थप नैराश्यता आउने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्