फेसबुक र ट्वीटरमा हुने विज्ञापनमा कर लगाउन सरकारलाई निर्देशन

काठमाडौं। सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन संसदको विकास समितिले सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा आज बसेको संसदको विकास समितिको बैठकले फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको हो।

बैठकले समाजिक सञ्जालमा विज्ञापन बापत ठूलो रकम बाहिरिएको भन्दै नियमन गर्न सञ्चार र अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो।

सरकारले इन्टरनेटको माध्यमबाट हुने विज्ञापनलाई करको दायरामा ल्याउने तयारी सुरु गरेको अवस्थामा समितिले यस्तो निर्देशन दिएको हो। पछिल्लो समय प्रविधिको माध्यमबाट हुने कारोबारको दायरा बढ्दै गएपछि अर्थ मन्त्रालयले करको दायरामा ल्याउन अध्ययन सुरु गरेको छ।

नेपालबाट विशेषगरी फेसबुकमा विज्ञापन धेरै हुने गरेको र त्यसको कर राज्यले संकलन गर्नुपर्ने भन्दै समितिले यस्तो निर्देशन दिएको हो। नेतादेखि मन्त्रीसम्मले फेसबुकमा विज्ञापन गरिरहेका तर त्यसको भुक्तानीको प्रक्रिया, खर्च, लागतजस्ता विषयमा अध्ययन गर्न आन्तरिक राजश्व विभागलाई अर्थ मन्त्रालयले निर्देशन दिएको अवस्थामा समितिलेसमेत यसमा जोड दिएको हो।

प्रतिक्रिया दिनुहोस्