प्रकाण्डलाई छोडेन काभ्रे प्रहरीले, थप ३ दिन थुनामा राख्न आदेश
काठमाडौं। जिल्ला अदालत काभ्रेले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थप तीन दिन थुनामा राख्न भनेको छ ।
प्रहरीले थप अनुसन्धानका म्याद मागेपछि उनलाई आईतबार जिल्ला अदालत काभ्रेमा उपस्थित गराईएको थियो । प्रवक्ता विश्वकर्मामाथि काभ्रेका कुन्साङ लामाको क्रसर उद्योगमा आगजनी गरेको र टेलिफोन टावरमा आगजनी गर्न लगाएको अभियोग लगाइएको छ ।
उद्योगमा आगो लगाएको मुद्दामा चन्द समूहका पोलिटब्युरो सदस्य कृष्ण धमला र मोहन कार्की यसअघि नै पक्राउ परेका थिए । नमोबुद्ध–६ मा रहेको क्रसरमा गएको वैशाख १ गते विप्लव समूहका कार्यकर्ताले आगजनी गरेका थिए । आगजनीले २ वटा स्काभेटर, एउटा जेसीबी, ४ वटा ट्रिपर र एउटा जेनेरेटर जलेका थिए ।
यसअघि स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा समयमा ७ करोड भन्दा चन्दा असुली गरेको आरोपमा महानगरीय प्रहरी परिसरको टोलीले विश्वकर्मालाई पक्राउ गरेको थियो । तर, छोरा नरेन्द्रले आफ्ना बाबुलाई बिना आधार पक्राउ गरी बन्धक बनाएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए ।
त्यो रिटमाथि सुनुवाइ गर्दैै गएको शुक्रबार न्यायाधीशद्वय चोलेन्द्र समशेर जबरा र तेजबहादुर केसीको इजलासले रिहा गर्न आदेश दिएका थियो । अदालतले रिहा गर्न आदेश दिए लगत्तै उनलाई मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको गाडीबाट ओरालेर प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि महानगरीय प्रहरीले उनलाई काभ्रे प्रहरीको जिम्मा लगाएको हो ।
प्रतिक्रिया दिनुहोस्