सातवटै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारणका लागि भण्डारणस्थल बनाइने!

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारणका लागि थप भण्डारणस्थल निर्माण गर्ने भएको छ ।

उद्योग वाणिज्य श्रम तथा उपभोक्ता समितिले आयल निगमको कार्यप्रगति, मूल्य निर्धारण, भण्डारण र व्यवस्थापनमा भएका समस्या र समाधान सम्बन्धि गरेको छलफलमा निगमले हाल भईरहेको भण्डारणबाट बजार आपूर्तिमा समस्या थपिएकाले थप भण्डारण स्थान बनाउने बताए ।

निगमका प्रबन्ध निर्देशक सुशील भट्टराईले सातवटै प्रदेशका जनप्रतिनिधिलाई उपयुक्त स्थान निर्धारण गर्न आग्रह गरिएको जानकारी गराए ।

उनले रक्सौलदेखि अमलेखगञ्जसम्म तेल आयात गर्न आवश्यक पर्ने ३८ किलोमिटरको पाईप लाईन बिच्छाउनुपर्नेमा हालसम्म १८ किलोमिटर पाईप लाइन बिच्छाइसकेको जानकारी गराए ।

बैठकमा उद्योगमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थको भण्डारणमा ठूलो समस्या रहेको बताउदै भण्डारण क्षमता वृद्धिका लागि थप जग्गा खोजी भइरहेको जानकारी दिए ।

उनले निगममा भइरहेको व्यवस्थापकीय बेथितिको छिटै अन्त्य गरिने बताए ।

मन्त्री यादवले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज र सरल बनाउन सरकारी स्वामित्वमा राष्ट्रिय आपूर्ति कम्पनीको निर्माण गरिन लागिएको जानकारी दिए ।

मन्त्री यादवले कर्मचारीलाई नेतागिरी गर्न छाडेर आफ्नो काममा इमान्दार भएर लाग्न निर्देशन पनि दिए ।

समितिका सदस्यहरुले अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्ने सरकारी प्रतिवद्धताको पूर्ण पालना नहुँदा मूल्य वृद्धि भई जनताको ढांड सेक्ने काम भएको भन्दै वैज्ञानिक ढंगले समाधान खोज्न सुझाव दिएका थिए ।

उता, प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकका बारेमा सरोकारवालाहरुसँग छलफल गर्ने भएको छ ।

यससम्बन्धमा विधेयकका अभियन्ता डा गोविन्द केसीसँग छलफल गर्ने निर्णय समितिले गरेको छ

समितिको आजको बैठकले विधेयकका बारेमा आगामी बैठकमा माथेमा आयोगका पदाधिकारी, डा केसी, नेपाल चिकित्सक परिषद्का पदाधिकारीलगायत सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको हो ।

यसअघि विधेयकबारे सदस्यहरुले उठाएको प्रश्नमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षामा विपन्न तथा गरीबका लागि विशेष व्यवस्था गरेर पहुँचको सुनिश्चित गरिने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्