अस्ट्रेलियाली स्कुले छात्रले गरे एप्पलको सिस्टम ‘ह्याक’

सिड्नी । एप्पल कम्प्युटरमा काम गर्ने ‘सपना’ बुनेका एक अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको कम्प्युटर प्रणाली ‘ह्याक’ गरेको अस्ट्रेलियाली सन्चारमाध्यमहरुले जनाएका छन् ।

एप्पल कम्पनीले जारी गरेको विज्ञप्तिमा ग्राहकका कुनैपनि विवरणलाई दुरुपयोग नगरिएको स्पस्ट गरेको छ ।

अस्ट्रेलियाली अखबार ‘द एज’काअनुसार भिक्टोरियास्थित बाल अदालतसमक्ष दिइएको बयानमा ती छात्रले मेलबोर्नको घरबाटै एप्पलको मेनफ्रेम कम्प्युटरमा अनधिकृत प्रवेश गरी ९० जीबी बराबरका गोप्य फाइल डाउनलोड गरेको बताएका थिए ।

त्यतिबेला ती स्कुले छात्रको उमेर १६ वर्ष थियो ।

‘एप्पलका उत्पादनका ‘फ्यान’ उनी एक वर्षको बीचमा पटक–पटक कम्प्युटर प्रणालीमा प्रवेश गरेका थिए र उनले अमेरिकी कम्पनी एप्पलमा काम गर्ने सपना साँचेका थिए’–ती बालकका वकिलको भनाइ उद्धृत गर्दै अखबारले लेखेको छ ।

एप्पलले ती छात्रले कम्प्युटर सिस्टममा प्रवेश गरेको प्राविधिकको टोलीले पत्ता लगाएपछि कानुन कार्यान्वयन इकाइमा उजुरी गरेको जनाएको छ ।

उक्त घटनाका सम्बन्धमा एफबीआई र अस्ट्रेलियाली संघीय प्रहरीले संयुक्तरुपमा अन्तर्राष्ट्रिय अनुसन्धानसमेत गरेको अखबारले लेखेको छ ।

संघीय प्रहरीले अदालतमा अझै विचाराधीन मुद्दा रहेकाले यसबारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।

द एजकाअनुसार प्रहरीले गत वर्ष ती स्कुले छात्रको घरमा छापा मारेको र ह्याक गर्दाका फाइल एवं अन्य विवरण सुरक्षित राखेका ‘फोल्डर’ बरामद गरेको थियो ।

‘दुईओटा एप्पल ल्यापटप बरामद गरियो र भित्री प्रणालीमा पहुँच रहेका सिरियल नम्बर फेलापारियो’–अभियोजन पक्षका एक वकिलले बताए ।

ह्याकमा प्रयोग गरिएको मोबाइल फोन र ‘हार्डड्राइभ’ पनि प्रहरीले बरामद गरेको उनले जानकारी दिए ।

ती स्कुले छात्रले आफूले गल्ती गरेको स्वीकारेका छन् र यो मुद्दा अदालतमा विचाराधीन छ ।

अर्को महिना उनीमाथिको सजाय सुनाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्