नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुलाई मन्त्री पुनले दिए यस्तो कडा निर्देशन

काठमाडौं। उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले जनभावना अनुसार चल्न नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुलाई कडा निर्देशन दिएका छन् । विद्युत प्राधिकरणप्रति सेवाग्राहीको गुनासो बढिरहेका बेला मन्त्री पुनले जनभावना अनुसार चल्न प्राधिकरणका कर्मचारीहरुलाई सचेत गराएका हुन् ।

मन्त्री पुनले जनताको सेवक हुँ भन्ने भावनाका साथ काम नगर्ने कर्मचारीलाई पदबाट बर्खास्त गर्ने चेतावनी पनि दिए ।  शुक्रबार नेपाल विद्युत प्राधिकरणको ३३ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पुनले प्राधिकरणका कर्मचारीहरुले जनताको आवाज नसुनेको गुनासो आफूसँग आएको उल्लेख गर्दै त्यस्ता कर्मचारीलाई पदबाट हटाउन सकिने बताए ।

उनले राम्रो काम गर्ने कर्मचारीलाई जनताले पनि सम्मान गर्ने गरेको पनि स्मरण गराए ।  मन्त्री पुनले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नेगरी कामलाई अघि बढाउन पनि नेपाल विद्युत प्राधिकरणलाई निर्देश गरे ।
निजी क्षेत्रसँग प्रतिस्पर्धा नगरे प्राधिकरणको औंचित्य नहुने मन्त्री पुनको भनाई छ ।

मन्त्री पुनले प्राधिकरणको नियमनका लागि विद्युत नियमन आयोग गठन गर्ने घोषणा पनि गरे । उनले आयोग गठन गर्नका लागि सरकारले त्यसको ऐन र नियमावली बनाउने कामलाई सम्पन्न गरिसकेको जानकारी दिए ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव एवम् प्राधिकरणका अध्यक्ष अनुपकुमार उपाध्यायले नागरिकलाई गुणस्तरीय सेवा वृद्धिमा ध्यान दिन प्राधिकरणलाई सचेत गराए ।  कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणको बार्षिक प्रगति विवरण पेश गर्दै यसको सेवालाई भरपर्दो, गुणस्तरीय र सर्वसुलभ बनाउनु प्राधिकरणको मुख्य चुनौती रहेको बताए ।

उनले विद्युतको नियमित आपूर्ति र चुहावट नियन्त्रण नै एक वर्षको मुख्य अभियान भएको पनि जानकारी दिए ।  प्राधिकरणले यस वर्ष १ अरव १ करोड कुद मुनाफा आर्जन गर्न सफल भएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले नियमित विद्युत आपूर्ति र चुहावट नियन्त्रणका कारण प्राधिकरणले सो मुनाफा आर्जन गर्न सफल भएको पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्