नारायणगढ–मुग्लिन सडकः १७ किलोमा सडक भासिनेक्रम जारी, यस्तो समस्या आखिर कहिले सम्म ?

काठमाडौं। नारायणगढ–मुग्लिन सडकखन्डको १७ किलोमा सडक भासिनेक्रम जारी रहेको छ ।

एक महिनादेखि विस्तारै भासिन सुरु गरेकामा हालसम्म आइपुग्दा १.५ मिटर सडक भासिएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार सो ठाउँमा ९ मिटर सडक चौडा छ ।

जसमध्ये पाँच मिटर भाग भासिएको छ । चार मिटरबाट एकतर्फीरुपमा सवारी चलेका छन् । ४० मिटर लामो भागमा सडक भासिएको हो ।

सो ठाउँमा वि.सं. २०६० मा सडक भासिएपछि ‘रक स्वायल एंकरिङ’ गरिएको थियो ।

सडकछेउबाट त्रिशूली नदी बगेको छ । विज्ञले भासिएको ठाउँको निरीक्षण गरी वर्षात्को समयमा नचलाउन सुझाव दिएका छन् ।

उनीहरुले वर्षात्मा चलाउँदा बाटो पूरै बन्द हुनसक्ने भन्दै हिउँद लागेपछि के गर्ने टुंगोमा पुग्नुपर्ने बताएका छन् ।

खनालकाअनुसार सडक बढी भासिएमा तत्काल भित्तो काट्ने विकल्प राखिएको छ । दैनिक सडक भासिनेक्रम बढ्दै गएको खनालले जानकारी दिए ।

डिभिजन सडक कार्यालय भरतपुरका तत्कालीन इन्जिनियर प्रकाश उपाध्यायले सोही क्षेत्रमा त्यतिबेला सडक भासिएर ‘रक स्वायल एंकरिङ’ गरिएको बताए ।

भित्तोमा १०–१५ मिटर फलामे डन्डी घुसाएर रडसँगै सिमेन्ट जमाउने र बाहिरी भाग पनि ढलान गरी बलियो बनाउने कामलाई ‘रक स्वायल एकंरिङ’ भनिन्छ ।

सोही ठाउँको ‘रक एंकरिङ’ले काम गर्न छोडेर वा नदीले खोलेर धसिएको हुनसक्ने अनुमान गरिएको छ ।

हाल सो सडक विस्तारको अन्तिम चरणमा पुगेको छ ।

सडक भासिएको ठाउँ नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ । सोही सडक हुँदै दैनिक करिब १० हजार सवारी–साधन आवातजावत गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्