भारतका पूर्वप्रधानमन्त्री बाजपेयीको निधन, जो पहिलो पटक १३ दिनमात्रै प्रधानमन्त्री बनेका थिए

काठमाडौं। भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको निधन भएको छ। उनको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको बिबिसी हिन्दीले उल्लेख गरेको छ। उनी दिल्लीस्थित एम्स अस्पतामा उपचाररत थिए।

बिहीबार साँझ एम्सले एक विज्ञप्ति जारी गर्दै वाजपेयीको मृत्यु ५ बजेर ५ मिनेटमा भएको बताएको हो।

वाजपेयी मधुमेहबाट पिडित थिए। उनलाई यसै वर्षको जुनमा किड्नीमा संक्रमण देखिएपछि एम्स अस्पताल भर्ना भएका थिए।

भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट सम्मानित वाजपेयी तीन पटक प्रधानमन्त्री बनेका थिए। उनी भारतका लोकप्रिय कवि पनि थिए। उनी कुशल वक्ता तथा समावेशी राजनीतिका पर्याय मानिन्थे।

वाजपेयी सन् १९९६ मे १६ मा पहिलोपटक १३ दिनका लागि भारतको प्रधानमन्त्री बनेका सो वर्ष भएको निर्वाचनमा वाजपेयीको दल भाजपा ठूलो दल बनेको थियो। ठूलो दल भएका कारण तत्कालीन राष्ट्रपति शंकर दयाल शर्माले भाजपालाई सरकार बनाउन आह्वान गरेका थिए।  तर लोकसभामा बहुमत जुटाउन नसक्दा उनले राजीनामा दिएका थिए।

उनी दोस्रोपटक सन् १९९८ देखि १९९९ सम्म प्रधानमन्त्री भएका थिए। नेशनल डेमोक्रेटिक अलायन्स (एनडिए) बनाएर चुनाव लडेका कारण बहुमत आएको थियो। तर, प्रधानमन्त्री बनेको १३ महिनामै उनी सरकारबाट बाहिरिनुपर्‍यो। एक सहयोगी दल एआईएडीएमकेले समर्थन फिर्ता लिएपछि उनको सरकार ढल्यो।

अर्को सरकार बनेन, बरु चुनाव भयो। १९९९ मा भएको चुनावमा राष्ट्रिय जनतान्त्रिक गठबन्धनले साझा घोषणापत्रमा चुनाव लड्यो। जसलाई सुविधाजनक बहुमत प्राप्त भयो। फलस्वरुप, वाजपेयी १९९९ देखि २००४ सम्मका लागि प्रधानमन्त्री भए।

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले वाजपेयीको निधनमा दुःख व्यक्त गरेका छन्। ‘वाजपेयीको विराट र स्नेही व्यक्तित्व हाम्रो स्मृतिमा बसिरहने छ’, कोविन्दले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्