एकाएक चीनमा गैंडा पठाउने कार्यक्रम रोकियो

काठमाडौं। नेपाल सरकारले उपहारस्वरुप चीन सरकारलाई पठाउन लागिएको दोश्रो चरणको एक सिंगे गैडा हस्तान्तरणको अाजकाे कार्यक्रम  राेकिएकाे छ ।

मंगलबार चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सौराहाबाट दोश्रो चरणका मितिनी र सोल्टी नामका एकजोडी गैंडा चीन पठाउनका लागि ल्याइपुर्याएको छ, तर मितिनी र सोल्टी लगिने भनिएको चीनको गोन्जाओमा अहिले भीषण हावाहुरी चलेका कारण अाजकाे कार्यक्रम स्थगित भएको वन मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।

उनका अनुसार गोन्जाओमा आएको भीषण आँधीबेहरीका कारण कार्गो बोइङ अवतरण गर्न नसक्ने भएकाले उक्त कार्यक्रम स्थगित भएको हो ।

आज चिनियाँ पक्षलाई गैंडा हस्तान्तरण गर्ने कार्यक्रम राखिए पनि त्यसको सट्टा भोली साँझ ६ बजेका लागि सो कार्यक्रम तय भएको छ । भोली साँझ वनमन्त्री शक्तिबहादुर बस्नेतले चिनियाँ पक्षलाई गैंडा हस्तान्तरण गर्नेछन् ।

चीनलाई दुई जोडी गैंडा पठाउने सरकारको निर्णय अन्तर्गत पहिलो चरणमा डेढ बर्षको भद्र र २ बर्षकी रुपसीलाई गएको असार २६ गते विदाई गरिएको थियो ।  दोश्रो चरणमा मितिनी र सोल्टीलाई चीन पठाउने तयारी गरिंदैछ ।

प्रतिक्रिया दिनुहोस्