अमेरिकामा सीआईएका प्रमुखको पहुँच फिर्ता, अनियमित व्यवहार देखाएको आरोप

काठमाडौं । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले देशको प्रमुख गुप्तचर निकाय सीआइएका पूर्व निर्देशक जन ब्रेनन्लाई गोप्य जानकारीमा दिइएको पहुँच फिर्ता लिएको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव स्यारा स्यान्डर्सले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको वक्तव्य सुनाउँदै ह्वाइट हाउसले गरेको निर्णयको घोषणा गरेका हुन ।

राष्ट्रपति ट्रम्पले जारी गरेको वक्तव्यमा ब्रेनन्ले अनियमित आचरण र व्यवहार देखाएको उल्लेख छ ।

ब्रेनन्ले भने ट्रम्प प्रशासनको उक्त कदम आफ्ना आलोचकहरुलाई मौन राख्ने प्रयास भएको भनी ब्याख्या गरेका छन् ।

ट्रम्पको निर्णयको जवाफमा ब्रेनन्ले ट्वीट गर्दै राष्ट्रपतिको यो कदम वाक स्वतन्त्रतालाई दबाउन र आलोचकहरुलाई सजायदिन खोजेको एउटा प्रयास भएको प्रतिक्रिया दिएका छन् ।

गत वर्ष ब्रेननले सन् २०१६ को राष्ट्रपतीय चुनावमा ट्रम्पका चुनावी अभियानका अधिकारी र रुसबीच सम्भावित साँठगाँठबारेको अनुसन्धान राम्रैसँग स्थापित भएको प्रतिक्रिया दिएपछि आलोचित बन्दै आएका थिए ।

राष्ट्रपति ट्रम्पले भने ब्रेनेनको उक्त दाबीलाई निरन्तर रूपमा अस्वीकार गर्दै आएका छन् ।

ट्रम्पले गत वर्ष पदबाट बर्खास्त गरिएका संघीय जाँच व्यूरो एफबीआइका पूर्व निर्देशक जेम्स कोमी, राष्ट्रिय गुप्तचर निकायका पूर्व निर्देशक जेम्स क्ल्यापर, राष्ट्रिय सुरक्षा निकायका पूर्व निर्देशक माइकल हेइडन र पूर्व महान्यायाधिवक्ता स्याली ऐट्सलगायतको पनि सुरक्षा पहुँचबारे समीक्षा भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्