विवाहित महिलालाई माइतीको थर प्रयोग गर्न कानुनी अधिकार

काठमाडौं । मुलुकी एेन संशोधन गर्न ल्याइएको देवानी कानुनले विवाहित महिलालाई माइतीको थर प्रयोग गर्न कानुनी अधिकार दिएको छ । नयाँ ऐनअनुसार विवाहित महिलाले चाहे पति वा बुवाआमाले प्रयोग गरेको थर वा दुवै थर प्रयोग गर्न पाउने छन् ।

पतिको थर प्रयोग गरेर सम्बन्धबिच्छेद भए बुवाआमाको थर प्रयोग गर्न सक्ने व्यवस्था ऐनले गरेको छ । नयाँ कानुन भदौ १ गते शुक्रबारदेखि लागू हुँदैछ । यो कानुनले विवाहसम्बन्धी नयाँ उमेर हद तोकेको छ । अबदेखि विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्नेछ । यसअघि १८ वर्ष थियो । देवानी कानुनले विवाहसम्बन्धी अन्य प्रावधान पनि परिवर्तन गरेको छ । नयाँ कानुन लागू भएपछि कसैले पनि दोस्रो विवाह गर्न पाउने छैन । घरमा श्रीमती भएकै अवस्थामा श्रीमानले अर्की ल्याए त्यस्तो विवाह दर्ता हुने छैन ।

देवानी संहिताको दफा ७३ (ख) ले विवाह गरिसकेको अवस्थामा अर्को विवाह गरेमा बदर हुने व्यवस्था गरेको छ । पुनः विवाह गर्न वैवाहिक सम्बन्ध अन्त्य भएको, पति वा पत्नीको मृत्य वा कानुनबमोजिम अशंबन्डा हुनुपर्ने प्रावधान नयाँ ऐनमा छ । नयाँ ऐनले जारीसम्बन्धी मुलुकी ऐनको महल नै हटाएको छ । अर्काको श्रीमती जानी जानी विवाह गरे जारी तिर्नुपर्ने व्यवस्था थियो । अर्काकी श्रीमती भगाउने जार र भाग्ने जारी दुवैले दुई महिना जेल वा दुई हजारसम्म जरिवानाको प्रावधान थियो । भाग्ने जारीले धनमाल फिर्ता गर्नुपर्ने प्रावधान थियो ।

विवाहित व्यक्तिले नछुट्टिएसम्म अर्को विवाह गरे बदर हुने व्यवस्था राखिएपछि जारीसम्बन्धी महल हटाइएको हो । नयाँ ऐनले समलिङ्गी विवाह भने स्वीकृत गरेन । मस्यौदा क्रममा मान्छे र मान्छेबीच विवाह हुने प्रस्ताव अघि बढेको थियो । २०७३ मंसिरमा मान्छे र मान्छे हटाएर ‘महिला र पुरुषबीच विवाह हुनेु प्रावधान राखियो । देवानी कानुन निर्माणका लागि गठित संसदीय उपसमितिका सभापति राधेश्याम अधिकारीले समलिङ्गी विवाहका लागि छुट्टै विशेष कानुन निर्माण गर्न उचित हुने बताएका थिए । उपसमितिले देवानी कानुन निर्माण क्रममा ११ महिनामा १ सय ६८ घन्टा छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्