टीकापुर घटनाको पहिलो सुनुवाइ, प्रमाणसहित उपस्थित हुन आदेश
काठमाडौं । जिल्ला अदालत कैलालीले टीकापुर हत्याकाण्डमा बुधवार पहिलो सुनुवाइ गर्दै साक्षी झिकाउने आदेश गरेको छ।
हत्याकाण्ड ३ वर्षपछि सुनुवाइ सुरु भएको मुद्दामा जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको इजलासले पक्ष र विपक्ष दुवैलाई उक्त घटनाको साक्षी अदालत पेश गर्न आदेश गरेको हो। अदालतले भदौ २४ गते वादी-प्रतिवादीलाई साक्षीसहित अदालतमा उपस्थित हुन आदेश गरेको हो।
‘अदालतले भदौ २४ गते वादी-प्रतिवादीलाई घटनाको बारेमा जे प्रमाण छ त्यही ल्याएर अदालतमा उपस्थित हुन आदेश जारी गरेको छ,’ अदालतका श्रेष्तेदार इन्द्रबहादुर कठायतले भने, ‘त्यसपछि टीकापुर घटनाको मुद्दाको निन्तरता सुनुवाइ हुन्छ।’
पहिलो पेसीका लागि जिल्ला अदालत कैलालीले साउन २४ गते समय तोकेको थियो। तर, उक्त मितिमा जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको स्वास्थ्यमा समस्या आएको र साप्ताहिक मुद्दा पेसी तालिकामा नचढेको कारण देखाउँदै सारिएको थियो। त्यसपछि बुधवारका लागि निर्धारण भएको पेसीमा सुनुवाइ गर्दै साक्षी र प्रमाण मगाउने आदेश गरेको हो।
थरुहट/थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा परी एक नाबालक र ७ प्रहरीको ज्यान गएको थियो। प्रतिनिधिसभामा विजयी रेशम चौधरीसहित २६ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र चोरीडकैती मुद्दा चलाइएको छ। उनीहरु पुर्पक्षका लागि कारागारमा छन्।
प्रतिक्रिया दिनुहोस्