बाढीले अनामनगर र बिजुलीबजार प्रभावित, क्षति बुझ्न पुगे सांसद सिंह
काठमाडौं । धोबीखोलामा आएको बाढी बस्तीमा पस्दा अनामनगरदेखि बिजुलीबजार क्षेत्रका बासिन्दा प्रभावित भएका छन् ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पानीको बहाव धेरै भएका कारण बस्तीमा पसेको बताए ।
बाढीले कपन नीलोपुल, गोपीकृष्ण, ओम अस्पताल, रातोपुल, कालोपुल, ज्ञानेश्वर, मैतीदेवी क्षेत्रका बासिन्दा धेरै प्रभावित भएको घिमिरेले जानकारी दिए ।
नीलोपुलमा राति १ बजे बाढी आएको र त्यस क्षेत्रको एउटा सानो पुल भत्काइ पानी थुनिएपछि सतहबाट बस्तीमा बालुवासहित लेदो पानी पसेको स्थानीयबासीले बताएका छन् ।
त्यस्तै, मंगलबार रातिको अविरल वर्षाले निर्माणाधीन बिजुली बजारको पुल थुनिँदा अनामनगर, बिजुली बजारलगायका बस्तीमा पानी पसेपछि त्यस क्षेत्रका बासिन्दा प्रभावित भएका हुन् ।
घर, पसल, विद्यालय, होटल, पब्लिकेसनलगायतमा पानी छिरेको थियो ।
बाढीको क्षतिबारे बुझ्न बिहानै काठमाडौं क्षेत्र नम्बर–१ का सांसद प्रकाशमान सिंह उक्त ठाउँ पुगेका थिए ।
उनले जनतासँग बाढीले पुर्याएको क्षतिबारे जानकारी लिँदै बाढीपीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गरे ।
सांसद सिंहले गृह मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी र काठमाडौं महानगरपालिकामा टेलिफोन गरी पीडित बासिन्दाको समस्याबारे अवगत गराएका थिए ।
उनले सो क्षेत्रमा आगामी दिनमा बाढी नपसोस् भन्नेबारेमा दीर्घकालीन उपाय खोज्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्