स्वतन्त्रता दिवसमा भारतले नेपाललाई एम्बुलेन्स र बस दियो
काठमाडौं । भारतले नेपाललार्इ ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध गराएको छ । भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा नेपालस्थित भारतीय दूतावासले नेपालका विभिन्न अस्पताल, परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई एम्बुलेन्स र बसहरु उपलब्ध गराएको हो ।
लैनचौरस्थित दूतावासमा बुधबार आयोजित समारोहमा भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालका बिभिन्न संघ, संस्थाहरुलाई एम्बुलेन्स तथा बसहरु हस्तान्तरण गरेका हुन् ।
समारोहमा भारतीय सेनामा गइ वीरगति प्राप्त गरेका तथा अपाङ्गता भएका नेपालका परिवारलाई ५ करोड ३५ लाख नगद तथा कम्मल पनि वितरण गरिएको थियो । भारतीय स्वतन्त्रता दिवसकै अवसर पारेर भारतले यसअघि नै विभिन्न सामाजिक संघसंस्थालाई ६ सय ९२ वटा एम्बुलेन्स, १३६ वटा बस उपलब्ध गराइसकेको छ ।
समारोहमा भारतीय राजदूत पुरीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दले देशवासीको नाममा दिएको सन्देश पढेर सुनाएका थिए ।
सन्देशमा भारत स्वतन्त्र भएको ७१ वर्षयताका उपलब्धिहरुको चर्चा गरिएको छ । समारोहमा भारतीय दूतावासका कर्मचारीहरु, उनीहरुका परिवारलगायत नेपालमा रहेका भारतीय समूदायको सहभागिता रहेको थियो ।
समारोहमा भारतीय सांस्कृतिक केन्द्र, केन्द्रीय विद्यालय, मोर्डन इन्डियन स्कुलका विद्यार्थीहरुले देशभक्तिपूर्ण गीत गाएका थिए ।
प्रतिक्रिया दिनुहोस्