कुलमानको नेतृत्वमा विद्युत प्राधिकरणको रफ्तार : खुद नाफा एक अर्ब नाघ्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब रुपैयाँ भन्दा धेरै खुद नाफा कमाएको छ ।

प्राधिकरणले गत आर्थिक वर्षमा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपण गरेको थियो तर यो रकम अझै बढ्न सक्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

गएको आर्थिक वर्षमा प्राधिकरणको सञ्चालन मुनाफा ७ अर्ब ८६ करोड रुपैयाँ छ । यसमा अन्य वित्तीय खर्चहरु कटौती गरेपछि खुद मुनाफा आउँछ ।

विद्युत चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र नीजि क्षेत्रका उत्पादकहरुसँगको विद्युतको औसत खरिद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्य, वित्तीय पुर्नसंरचनाको प्रभावकारी कार्यान्वयलगायतबाट प्राधिकरण खुद नाफामा जान सफल भएको हो ।

चुहावट नियन्त्रणबाटै प्राधिकरणलाई झण्डै ४ अर्ब रुपैयाँ थप आम्दानी भएको छ । प्राधिकरणको वार्षिक उत्सवमा आव २०७३÷७४को प्राधिकरणको खूद नोक्सानी ९७ करोड ८९ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएकोमा अन्तिम लेखा परीक्षणपछि खुद नाफा १ अर्ब ५१ करोड रुपैयाँ देखिएको थियो । प्राधिकरणको संचित नोक्सानी अझै २८ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।

‘प्राधिकरणको गत आवको वार्षिक बजेटमा खुद नोक्सानी करिब २ अर्ब ५० करोड रुपैयाँ हुने प्रक्षेपण गरेको थियौं, तर प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट संस्थालाई नाफामा लैजान सफल भएका छौं’, कार्यकारी निर्देशक घिसिङले भने ‘मैले जिम्मेवारी सम्हाल्दा संस्था ८ अर्ब ८९ करोड रुपैयाँ वार्षिक घाटामा थियो,प्रधानमन्त्री, ऊर्जा मन्त्री, उर्जा सचिव, संचालक समितिसहित नेपाल सरकारका विभिन्न निकाय, आम उपभोक्ता, प्राधिकरणका कर्मचारी लगायत सबैको निरन्तर सहयोगबाट गतवर्ष पनि संस्था नाफामा गएको हो,तर हामीले सोचेजति सफलता हासिल गर्न भने अझै सकिरहेको अवस्था छैन ।’

उहाँले चालु आर्थिक वर्षमा प्राधिकरणले आफैंले निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी तेस्रो, ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए र सहायक कम्पनीमार्फत निर्माण भइरहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले विद्युत उत्पादन थाल्ने भएकाले प्राधिकरणको आम्दानी झनै बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्