महाकाली राजमार्ग दुई दिनदेखि अवरुद्ध,यात्रु बाटोमै अलपत्र

काठमाडौं। पहिरोका कारण दुई दिनदेखि अबरुद्ध भएको महाकाली राजमार्ग अझै संचालनमा आउन सकेको छैन ।

बैतडीको गोकुलेश्वरदेखि दार्चुलाको खलंगासम्मको सडकअन्तर्गत मालिकार्जुन गाउँपालिका–३ तेर्छेलेकमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

पहिरोका कारण हिजो बिहानदेखि अवरुद्ध सडक संचालनमा नआउँदा यात्रुलाई सास्ती भएको छ ।

बैतडीको पाटनबाट गएको डोजरले पहिरो पन्छाउने प्रयास गरिरहेको भए पनि ठूलो पहिरोका कारण पन्छाउन नसकिएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।

सडकको बीचमा ठूलो ढुंगा आएर बसेकाले डोजरले पन्छाउन नसक्दा धनगढीबाट मेसिन मगाएर हटाउने तयारी भइरहेको छ ।

दार्चुलाबाट काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, बैतडी तथा काठमाडौँ, महेन्द्रनगर, धनगढी, बैतडीबाट दार्चुलाका लागि छुटेका सवारी साधन दुई दिनदेखि बीच बाटोमै रोकिएका छन् । यात्रु अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्