हेर्दाहेर्दै जलेर खरानी भयो बन्दमा चलेको स्कुल बस, गैंडाकोटमा ट्रकमा आगजनी
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हानको गरेको नेपाल बन्दलाई सफल पार्ने नाममा मकवानपुरको टिष्टुङमा बसमा आगजनी भएको छ ।
मंगलबार विहान ६ बजे नेकपाका कार्यकर्ताले नयाँ बसमा आगजनी गरेका हुन् ।
आगजनी भएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय पालुङको टोली घटनास्थलमा पुगेको थियो ।
भन्सार छुटाएर काठमाडौं लैजाँदै गरेको स्कूलबस पूर्ण रुपमा क्षति भएको छ ।
गैंडाकोटमा ट्रकमा आगजनी
पूर्वी नवलपरासीको गैंडाकोट २ भृकुटीचोकमा आज बिहान ट्रकमा आगजनी गरिएको छ ।
बिहान करिब २ बजेतिर ना २ ख २५४८ नम्बरको पराल बोकेको ट्रकमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, आगलागी शुरु हुनासाथ प्रहरीले तत्कालै आगो नियन्त्रणमा लिएकाले ट्रकमा धेरै क्षति हुन पाएन ।
आगलागीबाट ट्रकमा भएको पराल भने नष्ट भएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।
ट्रकमा आगजनी गर्नेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आगजनी गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्