महाकाली नगरपालिकामा डुवानमा परेका ३० घरपरिवार विस्थापित,१ सय जनाको उद्धार !

काठमाडौं । कञ्चनपुरको महाकाली नगरपालिकामा भएको डुवानमा परेका झन्डै ३० घरपरिवार विस्थापित भएका छन् ।

बाढीका कारण डुवानमा परेका वडा नम्बर १० स्थित प्रतिभा टोल, श्री टोल र गिरी टोलका झन्डै ३० घरपरिवारका १ सय जनाको उद्धार गरिएको हो ।

महाकाली र जोगबुढा नदीका कारण १ सय ४८ घर डुवानमा परेका थिए । जसमध्ये ३० घरपरिवार बाढीका कारण विस्थापित भएका हुन् ।

विस्थापित परिवारमध्ये झन्डै एक सय जनालाई उद्दार गरी अम्बिका माध्यमिक विद्यालय दोधारामा राखिएको छ भने अधिकांश आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।

शनिबार रातीबाट परेको पानीका कारण महाकाली र जोगबुढा नदीमा पानीको बहाव बढेपछि महाकाली नगरपालिकाको ८, ९ र १० नम्बर वडाका बस्ती डुवानमा परेका थिए ।

वर्षेनी बाढी र डुवानको समस्या भए पनि बाढी नियन्त्रणका लागि सरोकारवालाले वेवास्ता गरेको पीडितहरुको गुनासो छ ।

बाढीका कारण धान, मकै र उखुलगायतका बालीमा समेत क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्