विप्लव नेतृत्वको नेपाल बन्द : उपत्यकामा सवारी साधन सामान्य रुपमै सञ्चालन

काठमाडौं । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेको छ ।बन्दले लामो दूरीका गाडी सञ्चालनमा प्रभाव परेको छ ।

यता काठमाडौं उपत्यकामा बिहानैदेखि सामान्य रुपमा यातायातका साधन चलिरहेका छन् ।

बिहानैदेखि सामान्य रुपमा यातायातका साधन चलिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । तर लामो दूरीका यातायातका साधन भने हिजो अस्तिभन्दा कम चलेका छन् ।

काठमाडौंबाट पूर्वका लागि छुट्ने यातायातका साधन चले पनि पश्चिमी क्षेत्रमा जाने यातायातका साधन खासै नचलेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

सुरक्षाकर्मीले सुरक्षा दिइरहेकाले ढुक्क भएर गाडी चलाउन प्रहरीले आग्रह गरेको छ ।

बन्द आह्वानका कारण उपत्यकाका धेरैजसो शैक्षिक संस्थामा भने बन्दको प्रभाव परेको छ । बिहानै खुल्ने विद्यालय तथा क्याम्पसमा पढाइ हुन सकेको छैन । यसले गर्दा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्