सिरियाको एक भवनमा शक्तिशाली विस्फोट, ३९ जनाको मृत्यु

काठमाडौं । विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको इड्लीब प्रान्तस्थित एउटा भवनमा भएको शक्तिशाली विस्फोटमा कम्तिमा ३९ जनाको मृत्यु भएको छ ।

इड्लीबको सार्मदा नगरस्थित भवनमा भएको विस्फोटमा १२ जना बालबालिकासहित ३९ जनाको मृत्यु भएको छ ।

सो भवनमा एक जना हतियार तस्करले हतियार भण्डारण गरेको बताइएको छ ।

विस्फोटमा परी अझै दर्जनौं मानिस हराइरहेको अधिकारीहरुले जनाएका छन् । विस्फोटबाट सो भवन पुरै भग्नावशेषमा परिणत भएको छ ।

भवनमा आश्रय लिएर बसिरहेका अधिकांश मानिस सिरियाको मध्यहोम्स प्रान्तबाट विस्थापित भएर आएकाहरु भएको बताइएको छ ।

बेलायतको पर्यवेक्षक समूह सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले हराइरहेकाहरुको खोजी तथा उद्दार भइरहेको जनाएको छ ।

इड्लीब विद्रोही समूहको पहडमा रहेको सिरियाको अन्तिम क्षेत्र हो । सिरियाली सरकारले विद्रोहीले कब्जा गरेका अन्य क्षेत्रमा कारबाही तिव्र पारेर आफ्नो नियन्त्रणमा लिइसकेको छ ।

रुस तथा इरानको समर्थन पाएको सिरियाली सरकारले इड्लीबलाई पनि नियन्त्रणमा लिने प्रयास जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्