जुम्ला घटना: छानबिनका लागि प्रदेश सरकारले बनायो छुट्टै कार्यदल
काठमाडौं । जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको घटनाको छानबिन गर्न कर्णाली प्रदेश सरकारले छुट्टै कार्यदल बनाएको छ। घटना भएको २६ दिनपछि शनिबार घटनाको छानबिनका लागि कार्यदल बनाइएको हो।
प्रतिष्ठानमा अनसन बसेका डा गोविन्द केसीलाई काठमाडौं लैजान खोज्दा साउन ३ गते प्रहरी र केसीका समर्थकबीच झडप भएको थियो। अस्पतालमा प्रहरीले लाठीचार्जसँगै अश्रुग्यास प्रहार गर्दा डाक्टर तथा विद्यार्थी घाइते भएका थिए। सोही घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको हो।
समितिलाई एक हप्ताभित्र प्रतिवेदन पेस गर्नेगरी कार्यादेश दिइएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन्।
शनिबार राति सम्पन्न बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव कलानिधि पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको हो। कार्यदलको सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव भक्तबहादुर कार्की र सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाकाका प्रमुख वृषबहादुर शाही रहेका छन्।
यसअघि नेपाल प्रहरीका डिआइजी सुरेन्द्र विक्रम शाह, एसपी केदार रजौरे र डिएसपी चूडामणि बुढाथोकी सम्मिलित तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो। उक्त टोलीले जुम्ला पुगेर घटनाको अध्ययन समेत गरेको थियो। यता प्रदेश सरकारले भने घटना भएको तीन साताभन्दा ढिलो गरी छानबिनका लागि कार्यदल बनाएको हो।
यसका साथै मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको दिर्घकालीन सञ्चालन र व्यवस्थापनका लागि स्थायी रुपमा भौतिक पूर्वाधार निर्माण गर्ने निर्णयसमेत गरेको छ। यसका लागि उपयुक्त जग्गा खोजी गर्न भौतिक पूर्वाधार मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ। यसका लागि सिफारिस गर्न १५ दिनको समायसीमा तोकिएको छ।
प्रदेशभित्रका सबै जिल्लाहरुमा खारेज भएका कार्यालय भवन र जमिन प्रदेश सरकारको मातहतमा दिन केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय पनि बैठकबाट भएको प्रवत्ता केसीले जानकारी दिइन्।
यसैगरी डोल्पा जिल्लाको मुड्केचुला गाँउपालिकाको नाम र केन्द्रमा असहमत भई भूगोल छानबिन गरी केन्द्र कायम गर्न माग गरिएकोले आवश्यक छानबिनका लागि मन्त्रीपरिषद्को राजनीतिक समितिमा पठाउने निर्णय पनि गरिएको छ।
प्रतिक्रिया दिनुहोस्