सहरी क्षेत्रमा बस्ने किशोरकिशोरी ‘डेटिङ हिंसा’को जोखिममा
काठमाडौं। सहरी क्षेत्रमा बसोबास गर्ने युवा तथा किशोरकिशोरीहरू ‘डेटिङ हिंसा’को जोखिममा रहेको एक अध्ययनले देखाएको छ।
युवा तथा किशोरकिशोरीसँग कार्यरत गैरसरकारी संस्था ‘युवालय’ले गरेको एक सर्वेक्षण अनुसार प्रेम सम्बन्धमा रहेकाहरू मध्ये करिब आधा युवायुवतीले डेटिङका क्रममा आफ्नै प्रेमीप्रेमिकाबाट हिंसा भोग्नुपरेको देखिएको हो। यस विषयमा नेपालमा भएको औपचारिक अध्ययन यो नै पहिलो रहेको संस्थाको दाबी छ। संस्थाले एक सय ५५ जनामा सर्वेक्षण गरेको थियो।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज सार्वजनिक गरिएको प्रतिवेदनमा अनुसार प्रेममा रहेकाहरु मध्ये आधाजसोले आफू परिवार तथा साथीसंगीसँग रहेका बेला प्रेमीप्रेमिकाले किचकिच गर्ने, दिक्क लगाउने लगायतका मनोवैज्ञानिक हिंसामा पार्ने गरेको उल्लेख गरेका छन्।
सर्वेक्षणमा करिब २० प्रतिशतले आफूले विभिन्न प्रकारको शारीरिक हिंसा भोगेको बताएका छन्। यसमध्ये सबभन्दा उल्लेख्य रूपमा गाली गर्ने, सामानहरू फालिदिने, धकेलिदिने लगायतका छन्।
अध्ययनमा सहभागी आधाभन्दा बढीले ‘डेटिङ यौन हिंसा हुन्छ कि हुँदैन?’ भन्ने प्रश्नको उत्तर दिएका छैनन्। उत्तर दिनेहरूमध्ये सर्वेक्षणमा सहभागी करिब १५ प्रतिशतले आफूलाई प्रेमीप्रेमिकाले चुम्बन लगायतका यौनजन्य क्रियाकलाप गर्न दबाब दिएको बताएका छन्।
नेपालको समाज तथा संस्कृति पितृसत्तात्मक रहेको भनिए पनि डेटिङ हिंसाको अभ्यास गर्ने र त्यसको पीडा भोग्नेमा महिला तथा पुरुष दुवै बराबर जिम्मेवार रहेको अध्ययनले देखाएको छ।
काठमाडौँ उपत्यकाका ८५ युवती र किशोरी तथा ७० युवक र किशोरबीच गत चैतमा सर्वेक्षण गरिएको थियो। त्यस क्रममा मनोवैज्ञानिक, शारीरिक र यौन हिंसाबारे छुट्टाछुट्टै समूहमा प्रश्न गरिएको थियो।
यसैबीच, संस्थाले डेटिङ हिंसाको व्यापकतालाई ध्यान दिँदै यससँग जुध्ने उपाय अवलम्बन गर्नका लागि अध्येता, गैरसरकारी संस्था, अधिकारकर्मी, युवा अभियानकर्मी, युवायुवती तथा किशोरकिशोरी लगायत समस्त सरोकारवालाको ध्यानाकर्षण गरेको युवालयका कार्यक्रम संयोजक सबिन बुढाथोकीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्