६ स्थानीय तहका केन्द्र परिवर्तन!

काठमाडौं । सरकारले ६ ओटा स्थानीय तहका केन्द्र परिवर्तन गरेको छ ।

गोरखाको धार्चे गाउँपालिकाको केन्द्र साविक गुम्दा गाविसको कार्यालयबाट परिवर्तन गरी वडा नम्बर–५, माछिखोला र पर्वतको मोदी गाउँपालिकाको केन्द्र साविक देउपुर गाविसको कार्यालयबाट मोदी–२, पातीचौरबजार कायम गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

स्थानीय सरकार सन्चालन ऐन, २०७४ को दफा ४ उपदफा (३) बमोजिम सम्बन्धित गाउँसभाको दुईतिहाइ बहुमतले पारित गरेको प्रस्ताव प्रदेश सरकारमार्फत् प्राप्त भएबमोजिम गाउँपालिकाको केन्द्र परिवर्तन गरिएको मन्त्रालयका प्रवक्ता सुरेशराज अधिकारीले बताए ।

यसैगरी, पर्साको कालिकामाई गाउँपालिकाको केन्द्र मुड्लीबाट कालिकामाई–३, हरिहरपुर विर्ता र विन्दवासिनी गाउँपालिकाको केन्द्र बहुअर्वाभाठ्ठाबाट प्रसौनीभाठ्ठा–५ कायम गरिएको छ ।

धादिङको थाक्रे गाउँपालिकाको केन्द्र साविक थाक्रे गाविसको कार्यालयबाट थाक्रे–६, महादेवबेसी र दार्चुलाको लेकम गाउँपालिकाको केन्द्र साविक खरकडा गाविसको कार्यालयबाट वडा नम्बर–४, रातमाटा कायम गरिएको छ ।

यस्तै, जनकपुर उपमहानगरपालिकाको नाम परिवर्तन गरी जनकपुरधाम उपमहानगरपालिका कायम गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्