बिम्स्टेक वरिष्ठ पदाधिकारीको विशेष बैठक आज,कार्य सुचि यस्तो छ

काठमाडौँ।  बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका वरिष्ठ पदाधिकारीको विशेष बैठक आज बस्दैछ।

आगामी भदौ १४ र १५ गते नेपालमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनको तयारीका लागि एक दिवसीय सो बैठक बिहान ९ बजेदेखि सुरु हुँदैछ। बैठकमा सहभागी हुन बिम्स्टेकका महासचिवसहित सदस्य राष्ट्रको विदेश मन्त्रालयका सचिवहरु नेपाल आइसकेका परराष्ट्र मन्त्रालयका सहप्रवक्ता रामबाबु ढकालले जानकारी दिए।

विशेष बैठकले शिखर सम्मेलन र त्यसअघि बस्ने मन्त्रिस्तरीय बैठकका लागि आवश्यक तयारी गर्नेछ। शिखर सम्मेलनअघि काठमाडौँमै भदौ १२ गते वरिष्ठ पदाधिकारीस्तरीय नियमित बैठक र भदौ १३ गते मन्त्रिस्तरीय बैठक हुने तय भएको छ।

बिम्स्टेक सदस्य राष्ट्रबीच सहयोग र साझेदारी प्रवर्द्धनन गरी आर्थिक विकास र समृद्धि हासिल गर्ने उद्देश्यले सन् १९९७ मा यसको स्थापना भएको हो।

बङ्गलादेश, भारत, म्यान्मा, श्रीलङ्का थाइल्यान्ड, नेपाल र भुटान यसका सदस्य राष्ट्र हुन्। बिम्स्टेकमा व्यापार एवं लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, मत्स्यपालन, कृषि, जनस्वास्थ्य, गरिबी निवारण, प्रतिआतंकवाद र अन्तर्राष्ट्रिय अपराध प्रतिरोध, वातावरण तथा विपद् व्यवस्थापन, सदस्य देशका जनताबीच सम्बन्ध विस्तार, सांस्कृतिक सहयोग र जलवायु परिवर्तन गरी सहयोगका १४ क्षेत्र निर्धारण गरिएका छन्।

विशेष बैठकमा शिखर सम्मेलनको तयारीको अवस्था र सदस्य राष्ट्रको आन्तरिक तयारीका बारेमा समेत छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

विशेष बैठकमा सहभागीले शिखर सम्मेलनका कार्यसूची बारेमा समेत छलफल र परामर्श गर्नेछन्।

बिम्स्टेकको पहिलो शिखर सम्मेलन सन् २००४ मा थाइल्याण्ड, दोस्रो सन् २००८ मा भारत र तेस्रो सन् २०१४ मा म्यान्मामा सम्पन्न भइसकेको छ। त्यसैगरी हालसम्म बिम्स्टेकका परराष्ट्रमन्त्रीस्तरीय १५ बैठक र वरिष्ठ पदाधिकारीस्तरीय १८ बैठक सम्पन्न भएका छन्। चौथो शिखर सम्मेलनमा मुख्य गरी हालसम्मका शिखर सम्मेलनले गरेको निर्णयको कार्यान्वयनको समीक्षा तथा बिम्स्टेकको उद्देश्यानुरुप सदस्य राष्ट्रको आर्थिक–सामाजिक विकासमा सहयोगका क्षेत्रको प्रभावकारिताबारेमा छलफल हुने बताइएको छ।

नेपाल सन् २००४ मा यसको सदस्य बनेको हो। बिम्स्टेक क्षेत्रमा विश्व जनसङ्ख्याको झन्डै २१ प्रतिशत अर्थात् करिब डेढ अर्ब जनसङ्ख्याको बसोबास छ। सन् २०१४ मा यसको सचिवालय बङ्गलादेशको ढाकामा स्थापना गरिएको हो।

प्रतिक्रिया दिनुहोस्