साहित्यकार तथा सञ्चारकर्मी यज्ञनिधिको निधन

काठमाडौं । साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको शुक्रबार साँझ निधन भएको छ ।

लतिलपुरको सुमेरु अस्पतालमा उपचारकाक्रममा ६५ वर्षीय यज्ञनिधिको निधन भएको उनका भाइ पुष्पनिधि दाहालले जानकारी दिए ।

मस्तिष्कघात भएपछि यज्ञनिधि उपचारार्थ अस्पताल भर्ना भएका थिए ।

दुई दशकअघि उनको मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

गत बुधबार डायलासिस गर्नेक्रममा बेहोस भएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरी सघन उपचारकक्षमा राखिएको थियो ।

मस्तिष्कघातका कारण उनी मन्डिखाटारस्थित निवासमा लडेका थिए ।

चिकित्सकले शल्यक्रिया नगरी प्रत्यक्ष निगरानीमा राख्न र नियमित डायलासिस गर्न सल्लाह दिएपछि शुक्रबार उनलाई थप उपचारका लागि सुमेरु अस्पताल लगिएको थियो ।

खोटाङमा जन्मिएका यज्ञनिधिले रेडियो नेपालमा लामो समय ‘साहित्य संसार’ कार्यक्रम सन्चालन गरेका थिए ।

पछिल्लो समय उनले रेडियो अन्नपूर्णमा हरेक शनिबार ‘जदौ’ कार्यक्रम चलाउँदै आएका थिए ।

उनका निबन्ध, कविता, गीत, समीक्षा, व्यंग्य आदि प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्